कोरोनाका दुवै मात्रा खोप प्रभावकारी

आश्विन २४,२०७८

-आस्था न्यूज

असोज २४,२०७८ काठमाडौं । 
कोरोना भाइरसविरुद्धको दुवै मात्रा खोप लगाएकामा खोपको प्रभाव बढिरहेको पाइएको छ । कोरोना सङ्क्रमण भएका सहभागीमध्ये लक्षण नदेखिएका सहभागीको अनुपातमा जटिल लक्षण देखिएका व्यक्तिमा एन्टिबडी विकसित भएको अध्ययनले देखाएको छ ।
 
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनमा कोरोनाविरुद्धको खोप लगाई शरीरमा एन्टिबडी विकास भएकाको सङ्ख्यालाई विश्लेषण गर्दा खोप लगाएको समय बढ्दै जाँदा एन्टिबडी विकसित भएकाको सङ्ख्या घट्दै गएको पाइएको छ ।
 
परिषद्का सदस्य-सचिव डा. प्रदीप ज्ञवालीले कोरोना सङ्क्रमण भई निको भएका तथा खोप लगाएका अधिकांश जनसङ्ख्यामा कोरोनाविरुद्धको एन्टिबडी विकसित भएको अनुसन्धानबाट देखिएको जानकारी दिनुभयो । कोरोना भाइरसविरुद्ध कोभिसिल्ड खोप लगाएका व्यक्तिमा ६३।३ प्रतिशत र भेरोसेल लगाएकामा ७२.४ प्रतिशतमा रोग प्रतिरोधात्मक क्षमता एन्टिबडी बनेको बताउनुभयो ।
 
परिषद्ले काठमाडौँ, ललितपुर र भक्तपुरका एक हजार ७९६ जनामा अध्ययन गरेको थियो । एन्टिबडी अध्ययन गर्दा कोभिसिल्ड लगाएका व्यक्तिमा खोप लगाएको धेरै समयपछि मात्र अध्ययन गरिएकाले भेरोसेलभन्दा कम प्रतिशतमा एन्टिबडी देखिएको हो । परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले पहिलो मात्रा खोप लगाएकामध्ये ५५।१ प्रतिशतमा र पूर्ण मात्राको खोप लगाएकामध्ये ८२ प्रतिशतमा एन्टिबडी देखिएको जानकारी दिनुभयो ।
 
भेरोसेल लगाएका व्यक्तिमा खोप लगाउनेबित्तिकै एन्टिबडी परीक्षण गरिएकाले धेरै एन्टिबडी देखिएको जानकारी दिँदै उहाँले काठमाडौँ उपत्यकाका तीनै जिल्लामा गरिएको अनुसन्धानमा खोप लगाएका ६५ प्रतिशत व्यक्तिमा एन्टिबडी देखिएको बताउनुभयो । उहाँले खोप नलगाएका केही व्यक्तिमा पनि एन्टिबडी देखिएको बताउनुभयो । गोरखपत्रमा खबर छ ।