नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या

आश्विन २५,२०७८

-आस्था न्यूज

असोज २५, २०७८ काठमाडौं ।
नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ को अनुसार देशको कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको हो । 
 
तथ्याङ्कअनुसार ११ लाख जनता मानसिक समस्याको शिकार भएका छन् । यस्तै थप १३ देखि १७ वर्ष उमेरका ५ दशमलव २ प्रतिशत किशोरकिशोरीले हालको अवस्थामा मानसिक स्वास्थ्य समस्या भोगिरहेका छन् ।
 
यसको परिणामस्वरूप ६ दशमलव ५ प्रतिशत वयस्कले तत्कालीन अवस्थामा आत्महत्याको सोच रहेको अनुभव गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले कोरोना महामारीमा समेत मानसिक स्वास्थ्य समस्या झनै विकराल बनेको बताए । 
 
उहाँले कोरोनाकालमा मानसिक स्वास्थ्यको अवस्था झनै जटिल बन्दै गएको भन्दै सङ्क्रमणको त्रास उत्पन्न सामाजिक, आर्थिक र शैक्षिक असमानता बढेको बताए ।
 
नेपाल प्रहरीको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा हरेक दिन औसत २० जना व्यक्तिले आत्महत्या गरेका छन् । विगतका वर्षभन्दा यो १३ दशमलव ७ प्रतिशतले बढी हो । मन्त्रालयका अनुसार सरकारले यस वर्ष देशभरका १३ सरकारी अस्पतालमा १० प्रतिशतदरले कुल १३० प्रतिशत मानसिक स्वास्थ्यका लागि छुट्याएको छ ।
 
हरेक वर्ष १० अक्टोबरका दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । यो वर्ष ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ विश्वभर मनाइँदैछ । नेपालमा पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्वमा सङ्घ, प्रदेश तथा स्थानीय तहमा विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय अभियानकै रूपमा मनाइयो ।
 
विश्व मानसिक दिवसका अवसरमा मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालसहित विभिन्न संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले मानसिक स्वास्थ्यका विषयलाई प्राथमिकता दिनुपर्ने बताए । गोरखापत्र दैनिकमा खबर छ ।