प्रधानमन्त्री देउवाले संसद्‌मा बुझाएको गाडीको नम्बर ‘अवैध’

आश्विन २५,२०७८

-आस्था न्यूज

असोज २५, २०७८ काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा ‘अवैध’ निजी नम्बर प्लेट रहेको गाडी फिर्ता गरेको पाइएको छ । देउवाले प्रमुख प्रतिपक्षी दल नेताको हैसियतमा ०७४ मा संसद् सचिवालयबाट बा२झ ४४८ नम्बरको गाडी लिएका थिए । तर प्रधानमन्त्री भएपछि उनले भदौ २६ मा बा२झ ४२३६ नम्बरको गाडी फिर्ता गरेका थिए ।
 
प्रधानमन्त्री कार्यालयले बा२झ ४२३६ लाई ०७५ पुस १० मा बा६च १०३० नम्बरको निजी प्लेटमा बदलेको थियो, जुन नम्बर प्लेटका लागि अनुमति नवीकरण नै गरिएको छैन ।
 
यातायात व्यवस्था कार्यालयले सरकारी गाडीलाई ६ महिनाका लागि मात्रै निजी बनाउन अनुमति दिने गरेको छ । बा२झ ४२३६ लाई पनि ६ महिनाका लागि मात्र बा६च १०३० बनाउन अनुमति दिइएको थियो तर देउवाले प्रमुख प्रतिपक्ष दल नेताको हैसियतमा संसद्बाट लगेको गाडीको सट्टामा फिर्ता गरेको बा२झ ४२३६ नम्बरको गाडी निजी नम्बरमा चलिरहेको थियो । 
 
यातायात कार्यालय स्रोतको अनुसार तीन वर्षअघि निजी नम्बर प्लेटमा बदलेको उक्त गाडीको पुनस् नवीकरण भएको छैन । देउवाले संसद्बाट लगेको बा२झ ४४८ नम्बरको गाडीलाई पनि ०७४ फागुन ३ मा निजी नम्बर बा१९च ५५५ मा परिवर्तन गरिएको छ । यो गाडी पनि त्यस यता पुनः निजी बनाउन नवीकरण नगरी चलाएको पाइएको छ ।
 
‘सर्वोच्च अदालतको गाडी बढीमा एक वर्षलाई र अन्य सरकारी कार्यालयलाई ६ महिनाका लागि गृह मन्त्रालयको सिफारिसमा मात्रै निजी नम्बर प्लेट राख्न अनुमति दिन्छौं,’ यातायात व्यवस्था कार्यालय ललितपुरका एक कर्मचारीले भने, ‘६ महिनापछि निजी बनाउने हो भने फेरि अनुमति लिनुपर्ने हुन्छ । अनुमति नलिने हो भने त्यो गाडीले सरकारी नम्बर प्लेट राख्नुपर्ने हुन्छ ।’
 
प्रधानमन्त्री कार्यालयले भदौ २५ मा संसद्मा बुझाएको कागजमा बा२झ ४२३६ गाडी उल्लेख भए पनि संसद्ले आइतबार बुझेको विवरणमा बा६च १०३० नम्बर प्लेटको गाडी छ । यही गाडी पनि संसद्ले बुझेको एक महिनापछि मात्रै स्टोरमा दाखिला भएको हो । संसद्को आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख एवं अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सचिव सुरजकुमार दुराले प्रधानमन्त्री कार्यालयबाट भदौ २५ मा बुझेको गाडी संसद्को रेकर्डमा नदेखाई व्यक्तिगत रूपमा प्रयोग गरेको पाइएको छ ।
 
प्रधानमन्त्रीले चढ्ने गाडी संसद्बाट गायब भएको विषयमा कान्तिपुरमा समाचार प्रकाशित भएपछि उनले आइतबार संसद्लाई गाडी बुझाएका हुन् । ‘गाडी मैले बुझेर केही दिन मात्रै चढेको हुँ,’ दुराले भने, ‘कागजी प्रक्रिया पूरा गर्ने क्रममै भएकाले स्टोरमा दाखिला नभएको हो ।’ कान्तिपुरमा खबर छ ।