Trending :
 

काठमाडौँ महानगरपालिका क्षेत्रको बजारलाई एकीकृत अनुगमन गरिने

कार्तिक ०७,२०७८

-आस्था न्यूज

कात्तिक ७,२०७८ काठमाडौं । 
काठमाडौँ महानगरपालिका क्षेत्रको बजारलाई एकीकृत अनुगमन गरिने भएको छ । बजार अनुगमन व्यवस्थित हुन नसकेको गुनासो बढिरहेका बेला कामपाको नेतृत्वमा एकीकृत अनुगमनको निर्णय लिइएको हो ।
कामपाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिकी संयोजक हरिप्रभा खड्गीको अध्यक्षतामा बसेको बैठकले अनुगमनको विस्तृत खाका तयार गरेको बताइएको छ । संयोजक श्रेष्ठले अनुगमनको क्रममा कैफियत देखिए तत्काल कारबाही गर्ने चेतावनी दिइन् ।
 
‘चाडबाडमा जथाभावी गर्ने व्यापारीलाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्नेछौं,’- उनले बताइन्। टोलीले खाद्यान्न, तरकारी, मरमसला तथा भाइटीका मसलाका सामान र फलफूल, फूल र मालासहित कृषिजन्य सामग्री, माछा, मासु, दूध तथा दुग्धजन्य खाद्यवस्तुको मूल्य र गुणस्तर हेर्नेछ । क्षेत्रअनुसार खटाइने अनुगमन टोलीमा नेपाल प्रहरी, कामपा, महानगर प्रहरी, समितिका अधिकारीलगायतको सहभागिता रहनेछ ।
 
हाम्रो लक्ष्य कसैलाई असजिलो महसुस गराउने होइन, सेवा र वस्तुको गुणस्तर तथा मूल्यलाई व्यवस्थित गर्ने हो, उनको भनाइ छ-‘स्वच्छ बजार व्यवस्थापनका लागि गरिने अनुगमनले उचित व्यापारिक क्रियाकलाप गर्नेलाई समस्या नपरोस् भन्ने उद्देश्यले अनुगमनलाई उच्च प्राथमिकतामा राखेका हौं ।’
 
तिहार र छठ पर्व लक्षित अनुगमनपछि पनि बजार अनुगमनलाई निरन्तरता दिने जानकारी दिँदै उनले टोलीमा वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभागका प्रतिनिधि र उपभोक्ता अधिकारकर्मी रहने बताए । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।