Trending :
 

भैँसीसम्बन्धी एसिया सम्मेलन सुरुः भैँसीको बेमौसमी प्रजनन गराउन विज्ञहरू सफल

कार्तिक ०९,२०७८

-आस्था न्यूज

कात्तिक ९, २०७८ काठमाडौं ।
दूध र मासुका लागि पालिने भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल भएका छन् । कृषि तथा वन विश्वविद्यालयले लामो समयदेखि भैँसीको बेमौसमी प्रजनन गराउन गरेको अनुसन्धान सफल भएको मुख्य अनुसन्धानकर्ता प्राडा भूमिनन्दन देवकोटाले बताउनुभयो ।
 
“हामी बेमौसमी भैँसी प्रजननमा सफल भएका छौँ”, चितवनमा जारी एसिया भैँसी सम्मेलन आयोजक समितिका अध्यक्षसमेत रहनुभएका भैँसीसम्बन्धी विज्ञ प्राडा देवकोटाले भन्नुभयो, “विगत पाँच वर्षयता नेपालका विभिन्न ठाउँका दुई सय भैँसीमा गरिएको अनुसन्धानमा ९४ वटा भैँसीलाई बेमौसमी प्रजनन गराउन सफल भएका छौँ । यो कुल प्रजननको ४७ प्रतिशत हो ।”
 
नगद पशुधनका रूपमा लिइने भैँसीको मुख्य प्रजनन मौसम साउनदेखि मङ्सिरसम्म हो । यो बेला हरियो घाँस र पोषणयुक्त खानेकुराका साथै वर्षात्मा सजिलै पानीमा आहाल खेल्न पाउने भएकाले भैँसीको प्रजनन मौसम मानिन्छ । यसरी प्रजनन भएका भैँसी १० महिनामा ब्याउँछन् । फागुनदेखि वैशाखसम्मको सुक्खा समय भने भैँसी प्रजननका लागि बेमौसम मानिन्छ ।
 
“फागुन, चैतजस्ता सुक्खायाममा भैँसीको तनावयुक्त रस ‘फर्टिटोल’ उत्पादन हुन्छ । यसले प्रजननमा समस्या हुने गरेको हो”, प्राडा देवकोटाले भन्नुभयो, “पोसिला दाना र खानपिनमा ध्यान दिई भैँसीको शरीरमा हर्मन विकास गराएर फर्टिटोल कमजोर बनाउँदै डिम्बाशय सक्रिय गराई प्रजनन गराइने गरिएको छ ।” गोरखापत्रमा खबर छ ।