Trending :
 

मोबाइल इन्टरनेटः फोरजी प्रयोगकर्ता बढे, थ्रीजीमा घटे

कार्तिक १५,२०७८

-आस्था न्यूज

कात्तिक १५, २०७८ काठमाडौं ।
चौथो पुस्ताको प्रविधि फोरजी विस्तारमा दूरसञ्चार सेवा प्रदायकहरूले जोड दिँदा मोबाइल इन्टरनेटको पहुँच पनि व्यापक बढ्न थालेको छ । एक महिनाकै अन्तरमा ११ लाखभन्दा बढीले फोरजी प्रयोगकर्ता बढ्नु यसको पछिल्लो उदाहरण हो ।
 
नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार सार्वजनिक गरेको नेपालको दूरसञ्चारसँग सम्बन्धित तथ्याङ्कअनुसार भदौसम्म नेपालमा फोरजी प्रयोगकर्ताको सङ्ख्या एक करोड २१ लाख ७० हजार नाघेको छ । जब कि साउनसम्म फोरजी प्रयोग गर्नेको सङ्ख्या एक करोड १० लाख थियो ।
 
फोरजी प्रयोगकर्ताको सङ्ख्याको हिसाबले नेपाल टेलिकम सबैभन्दा अगाडि छ । तथ्याङ्कअनुसार टेलिकमका ६२ लाख ६८ हजार फोरजी प्रयोगकर्ता छन् । टेलिकम एक महिनाकै अन्तरमा करिब १० लाख फोरजी प्रयोगकर्ता थप्न सफल भएको छ ।
 
चाडबाड तथा कोभिड सङ्क्रमण न्यून भएपछि बढेको आवतजावतले ग्रामीण क्षेत्रसम्म फोरजी प्रयोग गर्नेको सङ्ख्या बढ्दा कुल प्रयोगकर्ता एकै पटक बढेको कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताउनुभयो । टेलिकमले २० अर्ब रुपियाँभन्दा बढी लगानीमा देशैभर फोरजी विस्तार गर्ने परियोजना कार्यान्वयन गरेको थियो ।
 
दोस्रो स्थानमा एनसेल रहेको छ । जसका ५७ लाख २५ हजार फोरजी प्रयोगकर्ता छन् । फोरजी प्रयोगकर्ताको सङ्ख्याको हिसाबले एनसेल लामो समयसम्म अग्रस्थानमा थियो । भदौमा एकै पटक करिब १० लाख प्रयोगकर्ता थपिएपछि टेलिकम पहिलो पटक धेरै फोरजी प्रयोगकर्ता हुनेको सूचीमा पहिलो स्थानमा उक्लिएको हो । 
 
सीमित क्षेत्रमा मात्र सेवा उपलब्ध गराइरहेको स्मार्ट टेलिकमका सबैभन्दा कम फोरजी प्रयोगकर्ता छन् । प्राधिकरणको तथ्याङ्कअनुसार एक लाख ७६ हजारले स्मार्ट टेलिकमको फोरजी प्रयोग गर्छन् । गोरखापत्रमा खबर छ ।