Trending :
 

काँगेस बैठक महाधिवेशनको तयारीमा केन्द्रित

कार्तिक २४,२०७८

-आस्था न्यूज

कात्तिक २४, २०७८ काठमाडौं ।
 
नेपाली काँग्रेसको आगामी केन्द्रीय कार्यसमितिको बैठक मुख्य रूपमा १४औँ महाधिवेशनको तयारीमा केन्द्रित रहने भएको छ । यही कात्तिक २८ गते बोलाइएको बैठक मुख्यगरी महाधिवेशन तयारी, हालसम्म भएको पार्टीका विभिन्न तहको निर्वाचनको समीक्षालगायतका विषयमा केन्द्रित रहने भएको हो ।
 
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक पूर्ण रूपमा महाधिवेशनको तयारी केन्द्रित हुने जानकारी दिनुभयो । उहाँले महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिकामा परिमार्जन नहुने भन्दै आउँदो मङ्सिर २४ गते महाधिवेशन उद्घाटन गरिने जानकारी दिनुभयो । काँग्रेसले महाधिवेशन प्रक्रियाअन्तर्गत राजधानीको भृकुटीमण्डपमा मङ्सिर २४ देखि तीन दिनसम्मका लागि हल बुकिङ गरिसकेको छ । मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन हुनेछ । महाधिवेशन काठमाडौँमा गर्ने निर्णय पार्टीले यसअघि गरिसकेको छ ।
 
काँग्रेसले महाधिवेशन तयारीअन्तर्गत जिल्ला निर्वाचन सम्पन्न हुन बाँकी रहेका जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । रौतहटबाहेक ६३ जिल्लामा निर्वाचन अधिकृत खटाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
 
पार्टीले रौतहट जिल्लाको क्रियाशील सदस्यताको विवाद भने मिलाउन बाँकी छ । रसुवाको भने क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेर प्रतिनिधि खटाइएको छ । अब निर्वाचन अधिकृतले पार्टीको जिल्ला समिति र निर्वाचन समितिसँगको समन्वयमा जिल्ला अधिवेशनसम्मको काम पूरा गर्ने जानकारी निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिनुभयो । १४औँ महाधिवेशनअन्तर्गत हालसम्म विभिन्न १३ वटा जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । पार्टीको प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते हुनेछ । 
 
जिल्ला अधिवेशन मङ्सिर १० गते तोकिएको छ । यसैबीच, काँग्रेसको १४औँ महाधिवेशनमा परम्परागत शैलीकै मतदान गरिने भएको छ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ ९विद्युतीय मतदान०को तयारीबारे अहिलेसम्म खासै तयारी तथा छलफल नभएकाले परम्परागत हिसाबले नै मतदान गरिने भएको हो ।
 
केन्द्रीय निर्वाचन समितिका संयोजक यादवले अहिलेसम्म निर्वाचन समिति र पार्टीबीचमा विद्युतीय मतदानको विषयमा कुराकानी नभएकाले परम्परागत शैलीमै मतदानको व्यवस्था गरिने जानकारी दिनुभयो ।
 
उहाँले केन्द्रीय महाधिवेशनको पूर्वघोषित कार्यतालिका आउन अब चार साता मात्र बाँकी रहेकाले विद्युतीय मतदानका लागि समयसमेत अपुग हुने बताउनुभयो । महाधिवेशनमा विद्युतीय मतदानको प्रयोग हुन नसकेपछि प्रदेशस्तरमा समेत यसको प्रयोग नहुने भएको छ । मुलुक सङ्घीय संरचनामा गइसकेपछि काँग्रेसले पहिलो पटक प्रदेशस्तरको पार्टीको संरचना बनाउन लागेको हो ।
 
पार्टीमा पाँच हजारको हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने भएकाले पनि यसका लागि धेरै तयारी गर्नुपर्ने अवस्था रहेको छ । एउटा महाधिवेशन प्रतिनिधिले सभापति पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि एक सयभन्दा बढी उम्मेदवारलाई मतदान गर्नुपर्ने भएकाले पनि विद्युतीय मतदानको प्रबन्ध गर्न समस्या भएको भनाइ निर्वाचन समितिको छ ।
 
कार्यकर्ता अनशनमा
नेपाली काँग्रेसमा सबै जिल्लामा क्रियाशील सदस्यताको विवाद किनारा लागेर महाधिवेशन तयारीमा जुटे पनि रौतहटको समस्या समाधान हुन सकेको छैन । क्रियाशील सदस्यताको विवाद किनारा लाग्न नसक्दा जिल्लाका एक दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता लामो समयदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा अनशनरत रहेको पाइएको छ । जिल्लाको क्षेत्र- १ मा काँग्रेसका कार्यकर्ताभन्दा फोरम सम्बद्ध कार्यकर्ताले धेरै क्रियाशील सदस्यता पाएको विरोधमा कार्यकर्ताहरू विगत ११० दिनदेखि अनशनमा बसेका हुन् ।
 
पार्टी कार्यालय सानेपामा अनशनमा बस्नुभएका पूर्वमहाधिवेशन प्रतिनिधि नवलकिशोर शाहले क्षेत्र– १ का कुल ४१ वटा वडामध्ये ३१ वडामा पार्टी केन्द्रीय कार्यालयमा उजुरी दिइएको जानकारी दिनुभयो । क्रियाशील सदस्यताको वितरणमा चरम धाँधली गरिएका कारण आफूहरू अनशनमा बस्न बाध्य भएको उहाँको भनाइ छ । पार्टीमा लामो समयदेखि काम गरेका नेता तथा कार्यकर्तालाई क्रियाशील सदस्यताबाट वञ्चित गरिएको गुनासो उहाँले गर्नुभयो । गोरखापत्रमा खबर छ ।