झापामा नक्कली रासायनिक मल बनाउने गिरोह पक्राउ
-आस्था न्यूज
कात्तिक ३०,२०७८ काठमाडौं।
कृषकले रासायनिक मल नपाएर हाहाकार भइरहेका बेला झापामा नक्कली मल बनाइने गरेको फेला परेको छ । झापाको कनकाई नगरपालिका-३, सुरुङ्गाका तिलक पौड्यालको घरमा नक्कली मल बनाउँदै गरेको फेला परेको हो ।
नुनमा रातो माटो मिसाएर बोरामा नक्कली पोटास बनाई बिक्रीका लागि लैजान ठिक्क पारेको १६ बोरा तयारी नक्कली पोटास र बनाउँदै अवस्थाको मल भनिएको वस्तु र बनाउन प्रयोग गरिने पदार्थ बरामद भएको छ । केही बोरा भुइँमा राखिएको नुन र रातो माटो, बोरा सिलाउने सियो धागो र करिब ५० वटा खाली नुनका बोरा फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै सुरुङ्गा बजारमा रहेको भट्टराई कृषि भण्डारमा बिक्रीका लागि राखिएको १३ बोरा नक्कली तयारी पोटाससमेत फेला परेको छ ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाको नेतृत्वमा गएको प्रहरी टोलीले पौडेलको घर पछाडिबाट नक्कली पोटास बनाउँदै गरेको अवस्थामा दसीसहित फेला पारेको हो । सादा पोसाकमा गएको प्रहरीलाई देख्नासाथ नक्कली पोटास बनाउने चार जनाको समूह भागेको प्रहरीले जनाएको छ । गोरखापत्रमा खबर छ ।