कांग्रेस सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी घोषणा

मंसिर ०९,२०७८

-आस्था न्यूज

मंसिर ९, २०७८ काठमाडौं ।
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा सभापतिकामा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार काठमाडौँको नयाँ बानेश्वरस्थित आफ्नो सम्पर्क कार्यालयबाट निधिले औपचारिक रूपमा सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । 
 
‘लोकतन्त्र प्राप्तिका लागि विगतका संघर्षपूर्ण कठिन दिनमा अनेक सहकर्मीहरूसँगै मैले जेलनेलको लामो शृङ्खला अनुभव गरेको छु । विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली काँग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु,’ निधिले भने ।
 
काँग्रेसमा वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य शेखर कोइराला, कल्याण गुरुङले सभापतिमा दाबी गरेका छन् । तर अहिलेसम्म औपचारिक रूपमा सभापतिको उम्मेदवारी घोषणा गर्ने गुरुङले मात्र गरेका थिए । बिहीबार निधिले घोषणापत्र सहित उम्मेदवारी घोषणा गरेका छन् । 
 
सभापति पदमा उम्मेदवारी प्रस्तुत गर्दै उनले आफ्ना परिकल्पना, ध्येय र उद्देश्यसहित कार्ययोजना र पार्टीभित्रको आवश्यक सुधारलाई केन्द्रविन्दुमा राखेको घोषणापत्र बनाएका छन् । सभापतिको उम्मेदवारका लागि तयार पारेको घोषणापत्रमा परिकल्पना, उद्देश्य, ध्येय, र अन्य सुधारहरू शीर्ष राखिएको छ । 
 
आफू सभापति भए वैचारिक रूपमा स्पष्ट, गतिशील र जनतासँग जोडिने काँग्रेस बनाउने निधिको मुख्य नारा छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सार्थक पार्ने काँग्रेस बनाउने उनको सङ्कल्प रहेको छ ।