Trending :
 

पेट्रोलियम पाइपलाइन विस्तार र निर्माण सर्वे स्वीकृत हुन नसक्दा अन्योल

मंसिर २२,२०७८

-आस्था न्यूज

मंसिर २२,२०७८ काठमाडौं ।
पेट्रोलियम पाइपलाइन विस्तार र निर्माण सर्वे स्वीकृत हुन नसक्दा अन्योल भएको छ । अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको विस्तृत इन्जिनियरिङ सर्वे स्वीकृतिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७७ फागुनमै मन्त्रिपरिषद्मा पठाएको थियो । सर्वे स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको प्रस्ताव हालसम्म स्वीकृति नभएको मन्त्रालयका सह–प्रवक्ता उर्मिला केसीले जानकारी दिनुभयो ।
 
भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म सञ्चालन भएको पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्न सर्वे भएको थियो । ६५ किलोमिटरको सो पाइपलाइनका लागि सरकारले आ.व. ०७७/७८ को वार्षिक बजेटमा बजेट विनियोजन गरेको थियो ।
 
अमलेखगञ्ज–लोथर सर्वेको स्वीकृति नभएकाले भारतको सिलगुढी–झापा पाइपलाइनको काम पनि अगाडि बढ्न सकेको छैन । सिलगुढी–झापा पेट्रोलियम पाइपलाइन परियोजनाको डिटेल इन्जिनियरिङ सर्वे पनि निगममै थन्किएको छ ।
 
झापाको चारआलीदेखि मेची भन्सार काँकडभिट्टा हुँदै भारतीय सीमासम्मको नेपालतर्फको १५ किलोमिटर पाइपलाइनको रुट पहिचान गरिसकिएको निगमले जनाएको छ । नेपाल र भारतको संयुक्त अध्ययन समूहले पेट्रोलियम पदार्थ भण्डारण स्थलको पनि लेआउट तयार गरेको छ ।
 
पाइपलाइन निर्माणपछि चारआलीमा कुल ४१ हजार ६५० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण हुनेछ जसमा १२ हजार किलोलिटर पेट्रोल, २८ हजार किलोलिटर डिजेल, चार सय किलोलिटर मट्टितेल र एक हजार दुई सय किलोलिटर हवाई इन्धन भण्डारण निर्माण गरिने छ । यो पेट्रोलियम पदार्थले प्रदेश १ को ९० दिनको माग धान्न सक्छ । गोरखापत्रमा खबर छ ।