Trending :
 

पराजित हुँदा पनि कोइराला परिवारमा शेखरको उदय

मंसिर २९,२०७८

-आस्था न्यूज

मंसिर २९, २०७८ काठमाडौं । 
 
राजनीतिमा जितले मात्र नेता जन्मिँदैनन् । पराजित हुँदा पनि नेताका रूपमा उदाउँछन् । विरासत थेग्ने हैसियतमा पुग्छन् । कांग्रेसको १४ औं महाधिवेशनमा पार्टी सभापति पदमा पराजित भएका शेखर कोइराला यस्तै एक पात्र बनेका छन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवासँग सभापतिमा पराजित भए पनि पार्टीमा देखिएका दुई धारमध्ये एउटा धारको नेताका रूपमा स्थापित भए ।
 
 
युवा पुस्तालाई समेटेर उम्मेदवार बनेका उनी पछिल्लो पुस्ताले विश्वास गरेको नेता त बने नै, विगतको भूमिकाभन्दा फरक र सक्रिय रहने अवस्थामा पुगेका छन् । पार्टी नेतृत्वको आकांक्षी बन्ने रोलक्रम केलाउँदा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहसहितका नेताले उनलाई ‘जुनियर’ को आरोप लगाए । पार्टीका ‘सिनियर’ नेताहरू र परिवारका सदस्यहरूले समेत सभापतिको उम्मेदवार बनाउन नचाहेपछि युवाको आडमा चुनावी प्रतिस्पर्धामा उत्रेका शेखर अन्ततः पार्टीमा बनेका दुई समूहमध्ये एउटाको नेता बनेका छन् ।
 
 
पार्टी सभापतिको प्रतिस्पर्धामा बीपी कोइरालाका छोरा शशांक मौन बसे । गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाताले नेता सिंहको समूहबाट उपसभापतिमा उम्मेदवारी दिइन् । अर्थात् उनीहरूले आफैंले नेतृत्व गर्ने वा परिवारका सदस्य शेखरलाई जिताउने भूमिका देखाएनन् । बीपीपुत्र र गिरिजापुत्रीले महाधिवेशनमा निर्वाह गरेको भूमिकाले कोइराला परिवारको राजनीतिक ‘लिगेसी’ पनि अब स्वाभाविक रूपमा शेखरमा जोडिएको छ ।
 
शेखर बीपीका भाइ केशवका छोरा हुन् । निर्वाचनको नतिजा जे आए पनि अब कांग्रेसमा देउवा–कोइराला समूह बनेको छ । त्यसको नेतृत्वमा शेखर रहने परिस्थिति बनेको छ । निर्वाचनमा आएको मतका आधारमा उनीसँग रहेको युवा पंक्तिको राजनीति पनि यही समूहसँग जोडिएको छ । शशांकमा देखिएको विचलित वैचारिक क्षमता र ढुलमुले नीतिले पनि कोइराला परिवारको राजनीतिक विरासत स्वतः शेखरमा सरेको विश्लेषण राजनीतिक वृत्तमा छ ।
 
गिरिजाप्रसादनिकट रहेर लामो समय काम गरेका राजनीतिक विश्लेषक हरि शर्मा शेखर विरासतबाट नभई आफ्नै मिहिनेतले नेताका रूपमा स्थापित भएको बताउँछन् । ‘विरासतबाट हुने भए गिरिजाप्रसादकी छोरी सुजाता किन प्रकाशमानसँग जानुपर्थ्यो, बीपीका छोरा शशांक किन भूमिकाविहीन हुनुपर्थ्यो,’ उनले भने, ‘लोकतन्त्रमा विरासतबाट नेता हुने होइन ।’ मतदातालाई आफूले जे भन्यो त्यही गर्ने भेडाबाख्रा ठान्ने नेताहरूको प्रवृत्ति बढेको भन्दै शर्माले यसकै परिणाम कांग्रेसको महाधिवेशन विचारशून्य बनेको बताए । आजको कान्तिपुरमा खबर छ ।