Trending :
 

भागबण्डाका लागि मन्त्रालय फुटाएपछि एउटै सचिवलाई तीन मन्त्रालयको जिम्मेवारी

पौष ०२,२०७८

-आस्था न्यूज

पुस २, २०७८ काठमाडौं ।
बागमती प्रदेशको सरकारले सत्ता साझेदार गठबन्धनमा रहेका दललाई भागबण्डाका लागि मन्त्रालय फुटाएपछि कर्मचारी अभाव भएको छ । काम प्रभावकारी नभएको भन्दै आठ मन्त्रालय फुटाएर १४ पु(याएपछि मन्त्रालयमा सचिवदेखि कार्यालय सहयोगीसम्मका कर्मचारीको अभाव भएको हो । एउटा सचिवले तीनवटासम्म मन्त्रालयको काम गर्नुपर्ने बाध्यता छ ।
 
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर तीनवटा मन्त्रालय बनाएपछि उक्त मन्त्रालयका सचिव यज्ञनाथ दाहालले थपिएका मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुभएको छ ।
 
गत मङ्सिर १५ गतेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाएर १४ वटा पु(याउने निर्णय गरेको हो । प्रदेश सभाको बैठकमा समेत गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी)लाई प्रदेश सभाका सदस्यहरूले भागबण्डा मिलाउने नाममा मन्त्रालय फुटाएर आर्थिक बोझ नबढाउन भन्दै आग्रह गरेका थिए । 
 
प्रदेश सभाको बैठकमा सदस्यहरूको विरोध भए पनि मन्त्रालय फुटाउने गठबन्धन सरकारले निर्णय गरेको छ । यसअघि नेकपा एमालेको सरकारले दलभित्र भागबण्डा मिलाउन सातवटा मन्त्रालय रहेको सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय थप गरेको थियो ।
 
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिवसहित प्रदेशका मन्त्रालयमा १७ जना सचिवको दरबन्दी रहेको छ । हाल ११ जना मात्र सचिव प्रदेशमा छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका रमेशकुमार उपाध्याय लुइँटेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रमुख सचिवसहित चार जनाको दरबन्दी रहेको र कानुन हेर्ने सचिवको दरबन्दी रिक्त रहेको जानकारी दिनुभयो ।
 
थपिएको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा दरबन्दीमा भर्खरै नयाँ सचिव आएको उहाँले बताउनुभयो । प्रदेशमा दरबन्दी अनुसारको कर्मचारी अभाव रहेको उहाँले उल्लेख गर्नुभयो ।
 
प्रदेश सरकार मातहतका कार्यालयमा माथिल्लोदेखि तल्लो तहसम्म तीन हजार ७६४ जना कर्मचारीको दरबन्दी स्वीकृत भएको प्रवक्ता लुइँटेलले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले दरबन्दीको ६० प्रतिशत कर्मचारी मात्र छन् ।” कर्मचारी अभावमा कार्यसम्पादनमा समस्या भएको उहाँले बताउनुभयो । गोरखापत्रमा खबर छ ।