१७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने सेवा आयोगको तयारी
-आस्था न्यूज
पुस ५, २०७८ काठमाडौं।
शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला गरेलगत्तै बाँकी शिक्षकको विज्ञापन गर्न लागेको हो ।
आयोगले यो साता निमावि र अर्को साता प्रावि तहको विज्ञापन गर्ने तयारी गरेको छ। आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले दुई साताभित्र सबै तहको विज्ञापन खुला भइसक्ने जानकारी दिए।
उनका अनुसार निमावि तहमा २ हजार ५ सय ९६ र प्रावि तहमा लागि १३ हजार ८९ शिक्षकको विज्ञापन खुला गर्ने तयारी छ। ‘सबै गरी १७ हजार ३ सय ३२ शिक्षकका लागि विज्ञापन खुला गर्न लागेका हौं’-सूचना अधिकारी मरहठ्ठाले भने ।
निमावि तहमा १० विषयको शिक्षकको विज्ञापन खुला हुन्छ। आयोगले यसपटकबाट परीक्षणका रूपमा अनलाइन ध्यमबाट मावि तहको आवेदन लिएको छ।
आवेदकको संख्या एकैपटक बढ्न सक्ने र सर्भरले काम गर्न नसक्ने भयले चरणबद्ध रूपमा विज्ञापन गर्न लागिएको सूचना अधिकारी मरहठ्ठाको भनाइ थियो। पछिल्लो तथ्यांकअनुसार मावि तहमा करिब ५ सयले अनलाइनबाट आवेदन फारम भरिसकेका छन्।
तीमध्ये ९७ जनाले भौचर लिएको सूचना अधिकारी मरहठ्ठाको भनाइ छ। आयोग मावि तहको परीक्षा चैत १५ मा गर्ने तय गरिसकेको छ। नेपालसमाचारपत्र दैनिकमा खबर छ ।