सेनाको होस्टलबाट बेपत्ता विद्यार्थी चार महिनाभन्दा बढि भैसक्दा पनि भेटिएनन्
-आस्था न्यूज
पुस ७, २०७८ काठमाडौं ।
सुर्खेतका दानबहादुर शाही काठमाडौंमा भौंतारिन थालेको चार महिनाभन्दा बढी भइसक्यो । भूतपूर्व सैनिक शाहीका निम्ति आइपरेको दुःखसँग आफैंले वर्षौं काम गरेको नेपाली सेना नै जोडिएको छ ।
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा एमबीबीएस चौथो सेमेस्टरमा अध्ययनरत उनका २४ वर्षीय छोरा राजेश गत भदौ १७ मा सानो भर्याङस्थित कलेजको होस्टलबाटै बेपत्ता भए । यही घटनाले आकुल बनेका उनी छोराको खोजीमा काठमाडौंमा भौंतारिइरहेका छन् ।
बेपत्ता हुनुको अघिल्लो साँझ ८ बजे राजेशले सुर्खेतमा रहेकी आमालाई भिडियो कल गरेका थिए । कुराकानीमा उनले दसैंमा छिट्टै घर आउने बताएका थिए । त्यही बातचित नै राजेशको परिवारसँगको अन्तिम कुराकानी भइदियो ।
दानबहादुरका अनुसार उनीहरूले छोरा हराएको ५ दिनपछि मात्रै त्यसबारे खबर पाए, त्यो पनि कलेजबाट होइन, छोराको साथीबाट । दानबहादुरले भने, ‘कलेज सुरक्षित भनेर विश्वासमा जिम्मा लगाएका थियौं तर गैरजिम्मेवारी काम गर्यो । छोरा हराएको सूचना दिनसमेत आनाकानी गर्यो ।’
खबर पाएकै भोलिपल्ट दानबहादुर हुर्रिएर काठमाडौं आइपुगे । छोरा खोजीको अनुरोध लिएर उनी प्रहरी, सेना, जिल्ला प्रशासन कार्यालय, रक्षा, गृह र प्रधानमन्त्री कार्यालयसम्म धाए । ‘महानगरीय प्रहरी परिसर काठमाडौंले जाहेरी दर्ता गर्नसमेत मानेन, खोज्दै छौं भन्दै किटानी जाहेरी लिएनन्,’ उनले भने ।
दानबहादुरले छोरा पढ्ने कलेजका कार्यकारी निर्देशक जर्नेल नागेन्द्र केसी, प्रिन्सिपल जर्नेल अरुण न्यौपाने, वार्डेन मेजर विकल श्रेष्ठ, सुरक्षा प्रमुख कर्नेल सुवासजंग थापालगायतको नाममा किटानी जाहेरी दर्ता गराउन खोजेका थिए ।
ठूला मान्छेका नाममा किटानी जाहेरी लिइँदैन रे, प्रहरीलाई नै अप्ठ्यारो पर्छ भन्दै त्यसबेलाका एसएसपी अशोक सिंहले निवेदन लिन मानेनन्,’ उनले भने, ‘सेनाको आफ्नै निकाय छ, उनीहरूले पनि खोज्छन् भन्दै प्रहरीले आलटाल गरिरहेको छ ।
हामीलाई बच्चा चाहियो ।’ परिसर काठमाडौंका हालका प्रमुख एसएसपी सुदीप गिरीले भने राजेश बेपत्ता भएको बारे प्रहरीलाई नोटिसमा भएको र खोजी भइरहेको बताए । कान्तिपुरमा खबर छ ।