Trending :
 

लालबोझीका बाढीपीडित त्रिपालमुनि चिसोमा कठ्यांग्रिँदै

पौष ०९,२०७८

-आस्था न्यूज

पुस ९, २०७८ काठमाडौं।
कैलालीको भजनी-५ लालबोझीमा उनको घर थियो । उब्जाउ हुने खेतबारी थिए । नजिकै छरछिमेक र आफन्त हुँदा रमाइलो संसार थियो । गएको साउन ५ गते विपद्ले नलखेटेको भए उनी उसरी नै खुसीसाथ बसिरहेका हुन्थे । तर, सधैं शान्त रहने कान्द्रा नदी त्यस दिन सायद बौलाएको थियो । बाढी बोकेर त्यो लालबोझी गाउँ पस्यो, पूरै गाउँलाई डुबायो ।
 
‘हेर्दाहेर्दै हाम्रो घर र गाउँ बिलायो,’ ५० वर्षीय बमबहादुर डगौराले त्यो क्षण सम्झिए, ‘छिमेकी सब रातारात भागेर ओभानो ठाउँ खोज्दै ज्यान जोगाए, मैले पनि त्यसै गरें ।’
 
अलि पर हुलाकी राजमार्गमा उभिएर लालबोझीका दुई हजारभन्दा बढी बासिन्दाले आफ्नो सिरीखुरी गुमेको हेरिरहे । त्यो दृश्य तिनका लागि प्रलयको आखिरी दिनजस्तो थियो । ‘के गर्नु हजुर,’ सडकमा त्रिपालमुनि कक्रिएका बमबहादुर डगौराले बिलौना गरे, ‘कति मजाले जिन्दगी चलिरहेको थियो, आज आफैंलाई दोबाटोमा सुतेको पनि देख्नुपर्दो रहेछ ।’
 
केही दिनपछि बाढी त घट्यो । धेरै घर उजाड भए पनि हिलोमा लतपतिएर ठिंग उभिएका भेटिए । त्यसमा पसेको माटो पन्साएर अधिकांश गाउँले पुरानै बस्तीमा फर्किए । तर, चौधरी समुदायका पाँच घरपरिवार भने रनाहमा परे । किनभने, डुबानमा तिनको घरको धुरी भुइँमा मिलिसकेको थियो । ‘अरू सब घर फिरे, हामी सडकको सडकमै रह्यौं,’ बमबहादुर भन्छन्, ‘कहिलेसम्म यस्तो हालमा बस्नुपर्ने हो, सम्झँदा पनि मुटु फुट्लाजस्तो हुन्छ ।’
 
बमबहादुर र उनका चार छिमेकी अहिले पनि हुलाकी सडक किनारमा त्रिपाल टाँगेर बसिरहेका छन् । पुसको ठिहीमा त्रिपालमुनिको बास सहिनसक्नुले कष्टकर बनेको छ । बाढीले घरजग्गा सबै बगाएपछि हुलाकी सडकमा आएर बस्नुपरे पनि कसैले समस्या सम्बोधन नगरिदिएको उनीहरूको गुनासो छ । सरकारले बाढीका बेला दिएको आश्वासन पूरा नगर्दा उनीहरूमा बेलाबेला आक्रोश पनि थपिन्छ । राजमार्गमा दिनहुँ ओहोरदोहोर गर्ने ‘झन्डावाल गाडी’ मा हिँड्नेहरूले आफूहरूतिर नजरसमेत नलगाइदिएको बमबहादुरले बताए ।
 
 ‘हुलाकी सडक भएर पूर्वपश्चिम हुइँकिने कोही पत्रकार रोकिन्छन्, हाम्रा कुरा टिपेर रेकर्ड गराएर जान्छन्,’ उनले भने, ‘बाँकी धूलो उडाउँदै हुइँकिने झन्डावाल गाडीमा बस्नेको नजर हाम्रा त्रिपालमा पर्दैनन् ।’ उनका अनुसार प्रदेश सरकारका मन्त्रीहरू प्रायः चाररपाँच दिनमा एकपटक यही बाटो भएर जान्छन् । भजनी नगरपालिकाका प्रमुख–उपप्रमुखले पनि आफ्नो पीडा नदेखेको उनले बताए । ‘झन्डावाल गाडी आएको देख्दा हामी त्रिपालभित्रबाट सडकमा उभिन पुग्छौं,’ उनले सुनाए, ‘गाडी आफ्नै गतिमा दौडिन्छन्, हामी धूलो खाँदै फेरि त्रिपालमुनि छिर्छौं ।’ कान्तिपुरमा खबर छ ।