Trending :
 

क्षमता १० टन, भार भने ९० टनका कारण सडक बनिनसक्दै भत्काउनु पर्ने अवस्थामा

पौष १२,२०७८

-आस्था न्यूज

पुस १२, २०७८ काठमाडौं ।
 
डिजाइनमा समस्या र नियमनमा कमजोरी हुँदा विकास निर्माणका काम कसरी बालुवामा पानी हुन्छ भन्ने चित्र नेपाल-भारत सीमा क्षेत्रस्थित नेपालका सडकको दुरवस्थाले देखाउँछ । त्यही कारणले भन्सारदेखि औद्योगिक क्षेत्रसम्मका सडक बनिनसक्दै भत्काउनुपर्ने अवस्थामा पुगेका छन् ।
 
विराटनगरको रानीदेखि सुनसरी-मोरङ औद्योगिक कोरिडोरको दुहबीसम्म, वीरगञ्ज मुख्य नाकादेखिका विभिन्न सडक र भैरहवादेखि लुम्बिनी हुँदै परासीसम्मका सडकको भारवहन क्षमताका आधारमा सवारीसाधन गुड्ने नियमको पालना गराउने निकाय चुक्दा ठूलो नोक्सानी भएको छ तर नेपालगञ्ज भन्सारदेखि नेपालगञ्ज औद्योगिक क्षेत्रसम्मको सडकमा भने नियामक निकायको चुस्तताले त्यस्तो अवस्था नियन्त्रण हुँदै गएको छ ।
 
माथि उल्लेख गरिएका सडकको भारवहन क्षमता १० टन मात्रै हो तर ती सडकमा नौ गुणासम्म बढी भारयुक्त सवारीसाधन निर्वाध गुड्ने गरेका छन् । विराटनगरमा रानी भन्सार हुँदै दैनिक दुई सय त्यस्ता अधिक भारयुक्त सवारीसाधन औद्योगिक तथा व्यापारिक वस्तु लिएर सुनसरी-मोरङ औद्योगिक कोरिडोर पुग्छन् ।
 
एकीकृत भन्सार जाँचचौकी (आईसीपी)को व्यवस्थापन हेर्दै आएको ट्रान्स नेपालका निर्देशक लक्ष्मी सुब्बाका अनुसार न्यूनतम १० टनदेखि ९० टनसम्म भार बोकेका सवारी नेपाल भित्रिने गरेका छन् ।
 
त्यस्ता सवारीका कारण कोसी राजमार्गअन्तर्गत विराटनगर-१८ को आईसीपीको प्रवेश बिन्दुदेखि बूढीगङ्गाको नेमुवासम्मको सडक बनिनसक्दै भत्काउनु परेको छ लेन सडक आयोजना इटहरीका प्रमुख बद्रीप्रसाद शर्मा बताउनुहुन्छ ।
 
साढे तीन वर्षअघि निर्माण सम्पन्न भएको सडक भत्किएपछि सम्झौताअनुसार निर्माण कम्पनी आशिष निर्माण सेवाले पुनर्निर्माण त सुरु गरेको छ तर निर्माण कम्पनीका इन्जिनियर सागर बडालले भारका आधारमा डिजाइन नगरिएको सडक जति मर्मत गरे पनि भार नियन्त्रण नगर्ने हो भने उही समस्या रहने बताउनुभयो । सडकको मध्यबिन्दुदेखि पश्चिम क्षेत्रमा मात्रै सडक दबेको बताउँदै उहाँले यसरी दब्नुले पनि भारवहन क्षमताकै प्रभाव रहेको पुष्टि हुने बताउनुभयो ।
 
विराटनगरमा मात्र होइन समस्या
यस्तो समस्या विराटनगरको मात्र होइन । वीरगञ्जमा बन्दै गरेका वीरगञ्ज मुख्य नाका, सुक्खा बन्दरगाह नाका एवं आईसीपी नाकासम्म पथलैयालाई जोड्ने छ लेनको व्यापारिक मार्ग विभिन्न १३ ठेकेदार कम्पनीले बनाइरहेका छन् तर निर्माण सम्पन्न नहुँदै ठाउँ–ठाउँमा सडक दबेको छ । सडक दबेकाले दुई लेन सडक नै चार खण्ड जस्तो देखिने गरेको छ ।
 
सडकको क्षमताभन्दा बढी भारका सवारीसाधन गुडेकै कारण सडक दब्ने र भासिने गरेको इन्जिनियर दरोगा साहले बताउनुभयो । हुलाकी सडक निर्देशनालय परियोजना कार्यालय वीरगञ्जका प्रमुखसमेत रहनुभएका साहले भन्नुभयो, “दबेको सडकले वर्षामा दुर्घटनाको जोखिम पनि बढाउँछ । खाल्डो परेको ठाउँमा पानी जम्छ अनि फेरि भत्किन सुरु हुन्छ ।”
 
 
भैरहवा भन्सार हुँदै लुम्बिनी र परासी जाने औद्योगिक कोरिडोर सडकको अवस्था पनि उस्तै छ । ओभरलोडकै कारण भैरहवा–परासी कोरिडोरको दर्जनौँ स्थानमा भत्किएको छ । यस्तो समस्या आएपछि यातायात व्यवसायीले नै बढी भारका गाडी रोक्ने अभियान चलाएका थिए । गोरखापत्रमा खबर छ ।