क्रिसमस र अंग्रेजी नयाँ वर्षले पोखरा, चितवन र लुम्बिनीका होटल पर्यटकले भरिभराउ

पौष १६,२०७८

-आस्था न्यूज

पुस १६, १०७८ काठमाडौं ।
क्रिसमस र अंग्रेजी नयाँ वर्षमा घुमफिर गर्ने आन्तरिक पर्यटकका कारण लुम्बिनी प्रदेशका होटल तथा रेस्टुराँ भरिन थालेका छन् । कोरोना महामारीले दुई वर्ष सेवा बन्द गरेका होटल र रेस्टुराँ अहिले लयमा फर्किएका छन् । आन्तरिक पर्यटक ह्वात्तै बढेपछि पर्यटन व्यवसायीले नयाँ वर्षलक्षित मनोरञ्जन र सेवामा छुट कार्यक्रम तय गरेका हुन् ।
 
प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटक आगमन बढेको छ । कोरोना कहरले दुई वर्षसम्म व्यवसाय चलायमान बनाउन कठिनाइ भोगेका लुम्बिनीका होटल व्यवसायीले यस वर्ष खाना महोत्सव गर्ने भएका छन् । लुम्बिनी सांस्कृतिक तथा आठौं सडक खाना महोत्सव आन्तरिक पर्यटकलक्षित रहेको होटल संघ लुम्बिनीका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले बताए ।
 
डिसेम्बर ३१ र जनवरी १ मा पर्यटकले खाजा, खाना सडकमै खाने र तारे होटलमा २५ प्रतिशत र मध्यममा ५० प्रतिशतसम्म छुट व्यवस्था गरिएको छ । खाना र खाजामा ३० देखि ४० प्रतिशत छुट दिने उनले जनाए ।
 
‘अहिले ३ सय ५० पर्ने खाना महोत्सवमा २ सय रुपैयाँसम्ममा पाइनेछ,’ उनले भने, ‘रूपन्देहीसहित छिमेकी नवलपरासी, पाल्पा र कपिलवस्तुका होटलका स्टल महोत्सवमा रहनेछन् ।’ देशभित्रकै पर्यटक लक्षित गरिएकाले काठमाडौं, धरान, पोखरालगायतका स्थानदेखि समेत पर्यटकको बाक्लो उपस्थिति रहने शर्माले बताए । लुम्बिनी होटल संघमा आबद्ध ८१ होटलमध्ये तारे होटलले भ्याट तिर्न नपर्ने गरी २५ प्रतिशत छुट दिने व्यवस्था मिलाएका छन् ।
 
नयाँ वर्षलाई स्वागत गर्न रूपन्देहीको तिलोत्तमास्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्टले रमाइलो साँझको आयोजना गरेको छ । रिसोर्टमा डिसेम्बर ३१ तारिखको साँझ ७ बजेदेखि गायक सरिता सुनारसहित शिव ब्यान्डको प्रस्तुति रहने कार्यक्रम राखेको सञ्चालक गोपाल रानाले जनाए । ‘कार्यक्रममा सहभागिताका लागि एकल ग्राहकले १ हजार ५ सय रुपैयाँ, जोडीले २ हजार ५ सय र बच्चाका लागि १ हजार रुपैयाँ टिकट दर तोकिएको छ,’ उनले भने, ‘टिकटदरमा खाजा, पेय पदार्थ र खाना निःशुल्क रहनेछ ।’
 
होटल हिडन प्यालेसमा पुस १५ देखि १७ सम्म लाइभ म्युजिकल ब्यान्ड कार्यक्रम रहेको सञ्चालक आभ्षूण खनालले बताए । ‘यस अवसरमा प्यालेसमा आउने जोडीलाई ८ हजार ५ सय रुपैयाँमा बस्ने व्यवस्थासहित खाजा, खाना र रोजाइको पेय पदार्थ उपलब्ध गराउने प्याकेज छ,’ उनले भने, ‘यसबाहेक अन्य पाहुनालाई रुममा ३० प्रतिशत र फुड एन्ड वेभरेजमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइएको छ ।’ कान्तिपुरमा खबर छ ।