तीन महिनाभित्र भैरहवा विमानस्थल उद्घाटन गरिछाड्ने मन्त्री आलेको अठोट

पौष १७,२०७८

-आस्था न्यूज

पुस १७, २०७८ काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले अबको तीन महिनामा भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिने जानकारी दिनुभएको छ ।
 
नेपाल नागरिक उड्डयन प्राधिकरणको २३औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उहाँले उक्त विमानस्थलमा ‘क्यालिबे्रसन’ उडानको पहल भइरहेको जानकारी दिनुभयो ।
 
खासगरी भारतीय पक्षसँग यस विषयमा कुरा भइसकेको र त्यहाँबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले व्यावसायिक उडानको बाटो पनि खुला हुने उहाँको भनाइ छ । भारतले विमानस्थल सीमा क्षेत्र नजिकै रहेकाले त्यसबाट सुरक्षा चुनौती हुन सक्ने जानकारी नेपाललाई गराउँदै आएको छ । 
 
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि विभिन्न सञ्चालन मोडालिटीमा छलफल भइरहेको र सरकारलाई सबैभन्दा बढी फाइदा हुने मोडालिटी छनोट गरिने मन्त्री आलेले जानकारी दिनुभयो ।
 
उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी एक वर्षभित्र सञ्चालन गर्नेगरी तयारी गर्न पनि निर्देशन दिनुभयो । युरोपेली सङ्घ ९ईयू०ले नेपाली जहाजलाई सुरक्षा सूचीमा राखेकाले त्यसलाई हटाउन सबैले प्रयत्न गर्नुपर्ने उहाँको भनाइ थियो । “मैले लन्डन भ्रमणका क्रममा पनि काठमाडौँबाट त्यहाँसम्म छिट्टै उडान हुने प्रतिबद्धता व्यक्त गरेको छु । सुरक्षा सूचीबाट बाहिरिन सबैले पहल गरौँ,” उहाँले भन्नुभयो । ईयूले सन् २०२२ मा नेपालको हवाई सुरक्षाको परीक्षण गर्दै छ ।
 
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउने भएकाले विमानस्थलको व्यावसायिक योजना बनाउन सुझाव दिनुभयो । नेपालमा ५० लाखसम्म पर्यटन ल्याउन सकिन्छ भन्ने सोचका साथ हवाई पूर्वाधार निर्माणमा लाग्न उहाँले निर्देशन दिनुभयो ।
 
प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले कोभिड–१९ को प्रभावबाट हवाई क्षेत्र बिस्तारै पुनरुत्थानको चरणमा रहेको बताउनुभयो । उहाँले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ९८.७६, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ८९ प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना तयारीको ८० प्रतिशत काम सकिएको उहाँले बताउनुभयो ।
 
आव २०७७र७८ मा प्राधिकरणको आय प्रक्षेपणभन्दा ५७ करोड ४५ लाख रुपियाँले बढेर दुई अर्ब ६४ करोड रुपियाँ पुगेको उहाँले जानकारी दिनुभयो ।
 
उहाँले सो आर्थिक वर्ष ४१ अर्ब ११ करोड रुपियाँ प्रक्षेपण गरिएकामा १६ अर्ब ८२ करोड रुपियाँ मात्र खर्च भएको तथ्याङ्क प्रस्तुत गर्नुभयो । चालू आर्थिक वर्षमा प्राधिकरणले ४३ अर्ब ६७ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । गोरखापत्रमा खबर छ ।