विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिप गर्न दिइने

पौष १७,२०७८

-आस्था न्यूज

पुस १७, २०७८ काठमाडौं ।
सरकारले चीनलगायत मुलुकमा एमबीबीएस सहित चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।
 
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायत मुलुकमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययनर प्रयोगात्मक अभ्यासरइन्टर्नसिप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।
 
विश्वव्यापी कोरोना महामारीका कारण बीचमै स्वदेश फर्कंदा अध्ययन पूरा गर्न नपाएका करिब ३ सयभन्दा बढी विद्यार्थी बिचल्लीमा परेको अनुमान छ । यसअघि सन् २०१४ र २०१५ ब्याचका करिब साढे दुई सय विद्यार्थीले चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलको समन्वयमा नेपालमै इन्टर्नसिप पूरा गर्ने अवसर पाएका छन् । २०१५ ब्याचकै केही विद्यार्थीले इन्टनसिप गर्न छुटेको गुनासो गरेका छन् भने सन् २०१६ र २०१७ का विद्यार्थीले पनि इन्टर्नसिप पूरा गर्न पाएका छैनन् ।
 
आयोग र काउन्सिलको विज्ञ सम्मिलित कार्यदलले अध्ययन पूरा गर्न नपाएका विद्यार्थीलाई कूटनीतिक पहल गरेर सम्बन्धित मुलुकमै फर्काउन पहलका लागि सरकारलाई सुझाव दिएको थियो । उक्त पहल सफल हुन नसकेपछि विज्ञको सुझावका आधारमा सैद्धान्तिक पढाइ पूरा गरेका तर प्रयोगात्मक अभ्यास बाँकी भएका विद्यार्थीलाई इन्टर्नसिप पूरा गर्न दिनुपर्ने प्रस्ताव शिक्षा मन्त्रालयले गरेको थियो । मन्त्रालयको प्रस्तावका आधारमा मन्त्रिपरिषद्ले इन्टर्नसिप पूरा गर्न दिने निर्णय लिएको हो ।
 
सन् २०१४ र २०१५ ब्याचका विद्यार्थीलाई विभिन्न अस्पतालमा इन्टर्नसिप गर्ने व्यवस्था मिलाइएको छ । चीनबाहेक बंगलादेश, फिलिपिन्स र रुसमा अध्ययन गर्न गएका विद्यार्थीले पनि पढाइ पूरा गर्न नपाएको गुनासो छ । सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीको हकमा अन्तर्राष्ट्रिय मान्यतामा समेत असर नपर्ने गरी बाँकी अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसिप गराई समस्या समाधान गराउन गठित कार्यदलले सुझाव दिएको थियो । 
 
तीमध्ये कतिपय विद्यार्थी सैद्धान्तिक पढाइ पनि अनलाइनबाट लिएका छन् । आयोग र काउन्सिलले मापदण्ड बनाएर उनीहरूलाई इन्टर्नसिप पूरा गर्ने व्यवस्था मिलाउने शिक्षा मन्त्रालयले जनाएको छ । कान्तिपुरमा खबर छ ।