माओवादी महाधिवेशनः अधुरो लोकतन्त्र, अपुरो कमिटी

पौष १९,२०७८

-आस्था न्यूज

पुस १९, २०७८ काठमाडौं ।
विगतका गल्तीप्रति भयानक आत्मालोचना गर्दै भविष्यमा ‘जनमुखी दल’ बनाउने नेकपा माओवादी केन्द्रको राजनीतिक दस्ताबेज र प्रतिबद्धता महाधिवेशन नसकिँदै अलपत्र परेको छ । ‘जनमुखी कार्यकर्ता र कार्यकर्तामुखी नेता’ छान्ने दस्ताबेज पारित गरेको तेस्रो दिन महाधिवेशनले ‘अध्यक्ष पुष्पकमल दाहालमुखी’ केन्द्रीय समिति छानेको छ । 
 
एमाले महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पढेका नामलाई प्रतिनिधिले अनुमोदन गरेपछि माओवादी अध्यक्ष दाहालले ‘पञ्चर्‍याली’ भनेका थिए । ‘तपाईं हामीले एमाले नामको महाधिवेशन पनि देख्यौं । मैले त पञ्चर्‍यालीभन्दा अरू देख्दिनँ,’ मंसिर २५ मा पार्टीको प्रदेश सम्मेलनलाई एकसाथ भर्चुअल उद्घाटन गर्दै दाहालले भनेका थिए, ‘त्यहाँ न कुनै विचार, न कुनै बहस, न कुनै विधि, न कुनै पद्धति । निरंकुशता, विचार शून्यता र विचारहीनताको अधिवेशनका रूपमा गयो त्यो । दुनियाँले देख्यो ।’
 
एमाले महाधिवेशन सकिएको एक महिनामा माओवादी अध्यक्ष दाहालले पनि निर्वाचन समितिको अधिकारमा हस्तक्षेप गर्दै केन्द्रीय समिति सदस्यको सूचीको नाम आफैं पढेर सुनाए, महाधिवेशन प्रतिनिधिले ताली पिटेपछि एक साता लामो महाधिवेशन आइतबार साँझ सकियो । २ सय ९९ सदस्यीय केन्द्रीय समितिमा दाहालले २ सय ३६ जनाको नाम मात्र पढेर सुनाए, ६३ सदस्य थप्न बाँकी छ । महाधिवेशनले नै छान्न नसकेका सदस्यहरू कसले कसरी छान्न सक्छ भनेर विधानमा कुनै व्यवस्था छैन ।
 
लोकतान्त्रिक प्रतिस्पर्धाबाट नै केन्द्रीय समिति चयन गर्न सबैजसो प्रतिनिधिको सुझाव रहे पनि माओवादी नेतृत्वले विधिमाथि बन्देज लगाउँदै ‘सर्वसम्मत’ केन्द्रीय समिति चयन गरेको हो । प्रदेश र पालिका तहको आन्तरिक प्रतिस्पर्धामा नै नेतृत्व अनुदार देखिएको भन्दै आलोचना भएपछि अध्यक्ष दाहाल आफैंले अब लोकतान्त्रिक विधिलाई प्राथमिकतामा राख्ने बताएका थिए । तर, निर्वाचन समितिलाई २४ घण्टामा चार पटक कार्यतालिका संशोधन गर्न लगाएर अध्यक्ष आफैंले केन्द्रीय समितिको घोषणा गरेका हुन् ।
 
अध्यक्ष दाहालले प्रदेशलाई संख्या बाँडेर केन्द्रीय सदस्यको नाम सिफारिस गर्न भनेका थिए । तर, तल्लो तहकै अधिवेशनमा निर्वाचनलाई निषेध गरिएकाले प्रदेश पनि अपूर्ण छन् । माओवादीको प्रदेश २ र सुदूरपश्चिममा समिति नै बनेको छैन । कर्णाली, लुम्बिनी, गण्डकीमा अध्यक्ष चयन भए पनि अन्य पदाधिकारी चयनमा विवाद छ । प्रदेश १ र वाग्मतीमा प्रदेश पदाधिकारी निर्वाचनबाट चयन भइसकेको छ । यस्ता अधुरारअपुरा प्रदेश समितिको सिफारिसका आधारमा केन्द्रीय समिति चयन भएको छ ।
 
अध्यक्षले नै घोषणा गरेकाले केन्द्रीय समितिमा सबैजसो पुरानै अनुहार छन् । ‘निर्वाचन भएको भए कार्यकर्ताको नजरमा परेका नेता आउने सम्भावना थियो, नेतृत्वले छानेकाले नेताको नजरमा परेकाहरूमात्र आए,’ महाधिवेशन सकिएपछि होटल फर्कंदै गरेका एक प्रतिनिधिले भने ।
 
माओवादीमा मतदान प्रक्रियामार्फत केन्द्रीय समिति चयनको इतिहास छैन । ‘हामी कहाँ कहिल्यै चुनाव भएको छैन । चुनाव गर्न पनि एउटा परम्परा त चाहियो,’ नेता राम कार्कीले भने, ‘किनभने यसअघि प्रदेश समिति सहमतिमा चयन भयो । तर प्रदेशको पदाधिकारीको चुनाव गरियो, भनेपछि विस्तारै अब चुनावतिर जाला, लैजानुपर्छ ।’
 
माओवादीको पार्टी विधानमा केन्द्रीय निर्वाचन आयोगको व्यवस्था छ, जसको मुख्य उद्देश्य पार्टीको आन्तरिक निर्वाचन गर्ने हो । तर, नेतृत्व चयनमा आयोग होइन, नेता नै हावी हुँदै आएका छन् । यसपालि पनि त्यही दोहोरियो ।
 
राजनीतिशास्त्रका प्राध्यापकहरूले शान्तिपूर्ण प्रतिस्पर्धामा आएको माओवादीले पार्टी संगठन बनाउन प्रतिस्पर्धात्मक बाटो नरोजी कमजोर प्रक्रिया अपनाएको विश्लेषण गरेका छन् । प्राध्यापक कृष्ण खनालले माओवादीले राजनीतिक र सांगठनिक रूपमा द्वैध बाटो अपनाएको बताए । ‘माओवादी अझै अन्तरद्वन्द्वमा देखिन्छ,’ उनले भने, ‘उसले जुन प्रणालीलाई स्वीकार गरेर राजनीति गरिरहेको छ, शैली त्योभन्दा भिन्न छ,’ उनले भने, ‘पृष्ठभूमि नै फरक भएकाले उसको बाटो अलग हुन सक्छ, तर कुन बाटो लिने भनेर कार्यकर्तालाई खुला रूपमा भन्नुपर्छ, यसरी अन्तरविरोधमा फस्न हुँदैन ।’
 
राजनीतिशास्त्रका अर्का प्राध्यापक कृष्ण पोखरेल एमालेले प्रतिस्पर्धालाई निषेध गर्न थालेको सम्झँदै माओवादीले लोकतान्त्रिक अभ्यास गर्छ भनेर आफूले अपेक्षा नगरेको बताउँछन् । ‘कांग्रेस अगाडिदेखि नै निर्वाचन पचाएको पार्टी हो । त्यसैगरी नै पचाएको पार्टी एमाले थियो, त्यो पनि पुरानै ढर्रामा फर्कियो । माओवादी त निर्वाचनमा जाँदै नगएको पार्टी हो । तैपनि केही प्रदेशमा निर्वाचन गर्‍यो,’ पोखरेलले भने, ‘केन्द्रीय समिति चयनमा झन्डैझन्डै एमालेकै जस्तो विधि अपनायो, यद्यपि प्रदेशको सिफारिसका आधारमा अध्यक्ष दाहालले केन्द्रीय समिति घोषणा गरेको भन्ने छ । एमालेमा त अध्यक्षले नै अध्यक्ष घोषणा गरेका थिए । अब माओवादीले पनि त्यस्तै विधि अपनाउँछ कि के गर्छ, हेर्न बाँकी छ ।’
 
राजनीतिक विश्लेषक हरि रोका माओवादीमा नेतृत्व केन्द्रीकृत भएको र नेताले नै टुंग्याउनुपर्छ भन्ने सोच भए पनि एमालेको भन्दा केही फरक देखिएको बताउँछन् । ‘एमालेभित्र फरक मत राख्नेलाई प्रतिशोध साँधियो । माओवादीमा कम्तीमा फरक मत राख्न दिइयो । अध्यक्षले त्यसलाई समेट्छु पनि भनेका छन् । अर्कोतर्फ वैचारिक महाधिवेशन भने । त्यसकारण एमालेभन्दा अलिकति फरक देखियो,’ रोकाले भने, ‘सांगठनिक निर्वाचन पद्धतिका बारेमा अलिकति भिन्न कुरा ल्याउन सक्नुपर्दथ्यो, त्यो माओवादीभित्र देखिएन ।’
 
कमलादीस्थित प्रज्ञा भवनमा आठौं राष्ट्रिय महाधिवेशनको सातौं दिन शनिबार बिहान ११ बजेबाट बन्दसत्र सुरु भएको थियो । बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलबाट सुझावहरू समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय समितिले अन्तिम रूप दिने जानकारी गराएपछि हलले सर्वसम्मतिले पार्टीको विधान पारित गरेको थियो । पार्टीको निर्वाचन आयोगले नयाँ विधानअनुसार नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु गरेको थियो ।
 
नयाँ विधानअनुसार केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट सदस्य चुने विधिसहित आयोगले सूचना प्रकाशित गरेको थियो । तर, दाहालले शनिबार नै हललाई सम्बोधन गर्दै सहमतिबाटै चयनका लागि अधिकतम प्रयास गर्ने र सहमति हुन नसके लोकतान्त्रिक विधिबाट चयन गर्ने जानकारी गराएका थिए ।
 
केन्द्रीय समिति सहमतिबाट चयनका लागि महाधिवेशन आयोजक समितिमा छलफल गर्ने र सोका लागि अनुमति दिन बन्दसत्रसमक्ष दाहालले गरेको प्रस्ताव पारित भएपछि निर्वाचन प्रक्रिया थाती राखेर सहमतिबाटै केन्द्रीय समिति चयनका लागि दिनभर छलफल चल्यो । तर, शनिबार साँझसम्म सहमतिबाटै केन्द्रीय समिति चयन सम्भव भएन । पुनः बन्दसत्र साँझ पौने ७ बजे सुचारु भयो ।
 
बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सहमतिबाटै केन्द्रीय समिति चयनका लागि राम्रो गृहकार्य भएको र थप पहल गर्नॅपर्ने भएकाले बन्दसत्र ९आइतबार० १ बजेसम्मका लागि स्थगित गर्न प्रस्ताव गरे ।
 
आइतबार ११ बजे स्थायी समिति बैठक र १ बजेका लागि बन्दसत्र बोलाइए पनि सहमति जुटाउने गृहकार्य लम्बियो । त्यहीबेला निर्वाचन आयोगले पुनः निर्वाचन कार्यतालिका हेरफेरको सूचना जारी गर्दै अपराह्न ४ देखि ६ बजेसम्म उम्मेदवारी दर्ता र सोमबार बिहान ८ देखि १स्२५ सम्म मतदानको समय तोकेको थियो । केन्द्रीय सदस्य कार्कीका अनुसार आयोजक समितिको सहजीकरणमा सबै प्रदेश समितिका सदस्यहरूबीच छलफल गरेर केन्द्रीय सदस्यको नामावली टुंग्याएको थियो । आइतबार ४ः२५ बजेबाट मात्रै बन्दसत्र सुरु भयो ।
 
बन्दसत्रले पार्टीको यसअघिको केन्द्रीय अनुशासन, निर्वाचन र लेखा आयोगका पदाधिकारी र सदस्यहरूलाई अनुमोदन गर्‍यो । जसअनुसार केन्द्रीय अनुशासन आयोग प्रमुखमा टंक राई, निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठ र लेखा आयोग प्रमुखमा पेशल खतिवडा छानिएका छन् । तीनवटै आयोग २५ सदस्यीय छ । नयाँ विधानले आयोगका सदस्यहरूलाई केन्द्रीय समिति बैठकमा उपस्थित हुन पाउने व्यवस्था गरेको छ । विधानअनुसार केन्द्रीय समिति २ सय ९९ सदस्यीय हुनेछ । केन्द्रीय समितिले पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन गर्छ । पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुन्छन् । कान्तिपुरमा खबर छ ।