नेपाल-भारत आवतजावत गर्ने महाकाली नदीमा अर्को पक्की पुल बन्ने

पौष २३,२०७८

-आस्था न्यूज

पुस २३, २०७८ काडमाडौं।
महाकाली नदीमा नेपाल-भारत आवतजावत गर्ने दोस्रो पक्की पुल निर्माण हुने भएको छ । हाल कञ्चनपुरदेखि दार्चुलासम्म महाकाली पुलमा दुई देशको आवागमनलाई सहज बनाउन टनकपुर गड्डाचौकीमा एक मात्र पक्की पुल रहेको छ ।
 
सरकारले दार्चुला जिल्लास्थित धाप क्षेत्रमा नेपाल र भारत जोड्ने पक्की पुल निर्माणका लागि भारतसँग समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेपछि महाकाली नदीमा अर्को पुल निर्माण हुने भएको हो । महाकाली नदीमा भारतसँग जोड्ने यो दोस्रो पक्की पुल हुनेछ ।
 
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतसँग सहमतिपत्रमा हस्ताक्षर गर्नका लागि स्वीकृति दिने निर्णय गरेको बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
 
दुई देशबीच आवतजावत गर्नका लागि महाकाली पुलमा हाल टनकपुर गड्डाचौकीबाहेक अरू भागमा पक्की पुल छैन । कहीँ झोलुङ्गे पुल छन् भने कहीँ तुइनबाट आवतजावत हुँदै आएको छ, जसका कारण यहाँका स्थानीय बासिन्दा महाकाली नदीमा दुर्घटनामा परी अकालमा ज्यान गुमाउन बाध्य हुँदै आएका छन् ।