दोलखाको कुरीमा स्की एड्भेन्चर सेन्टर निर्माण हुने

पौष २८,२०७८

-आस्था न्यूज

पुस २८, २०७८ काठमाडौं ।
दोलखाको कालिञ्चोक कुरीमा कुरी स्की एड्भेन्चर सेन्टरु निर्माण हुन लागेको छ । संस्कृित, पर्यटन तथा नागरिक उड्डयन  मन्त्रालय अन्तर्गतको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले गुरुयोजना तयार पारिसकेकाले डीपीआर तयार गरी यो सेन्टर निर्माण गर्ने तयारी भइरहेको प्रतिष्ठानका निर्देशक उत्तम भट्टराईले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार नेपाल सरकारको करिब पाँच लाख रुपियाँ लागतमा गुरुयोजना तयार भइसकेको छ । गुरुयोजना अनुसार डीपीआर तयारका लागि आगामी वर्षको बजेटमा समावेश गर्ने तयारी पनि भइसकेको छ । नेपालको पहिलो र नमुनाको यो स्की एड्भेन्चर सेन्टर निर्माण हुनेछ । स्कीको विकास गर्दै लाने लक्ष्य अनुसार सोलुखुम्बुको छ हजार ४७० मिटर उचाइको हिमालमा मेरापिक स्की निर्माण हुने पनि निश्चित भइसकेको छ ।
 
गुरुयोजना तयार गर्ने जिम्मा पाएको पास कन्सल्ट्यान्टका इन्जिनियर देवराज खड्काका अनुसार तयार भएको गुरुयोजना बमोजिम यसको निर्माणका लागि भ्याटसहित करिब २८ करोड रुपियाँ लाग्नेछ । सेन्टरको क्षेत्रफल एक लाख १३ हजार वर्गमिटर छ ।
 
करिब दुई महिना मात्र हिमपात हुने यो थलोलाई बाह्रै महिना अन्य प्रविधि र क्रियाकलापबाट भए पनि चलायमान बनाउन विकल्प पनि खोजिएका छन् । पास कन्सल्ट्यान्टका इन्जिनियर खडकाले भन्नुभयो, पानीको अभाव कम गर्न एक लाख लिटर क्षमताको पानी ट्याङकी निर्माण हुनेछ । 
 
धार्मिक पर्यटकलाई लक्षित गरी यहाँ आध्यात्मिक ध्यान केन्द्र पनि निर्माण हुनेछ । कृत्रिम हिउँ उत्पादनको प्रविधि पनि जडान हुनेछ । आइस स्केटिङ पनि रहनेछ । 
 
कृत्रिम वाल क्लाइम्बिङ, क्वार्ड बाइक (सात मटिर लामो र ५.५ मिटर चौडाइ) र सात सय मिटरको टिबार रुट समेतका संरचना निर्माण हुने गुरुयोजनामा उल्लेख छ ।