११ वर्षपछि खुल्यो इजरायल रोजगारीः ९९ जना इजरायल उडे
-आस्था न्यूज
माघ ६, २०७८ काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार मोरङकी २६ वर्षीया युनिसा राई भेटिइन् । दीर्घकालीन हेरचाह सेवाको सहायक श्रमिक ९केयरगिभर० का रूपमा इजरायल जाँदै गरेकी उनी उत्साहित देखिन्थिन् । ‘इजरायल जान पाउनु भाग्यको कुरा पनि रहेछ । लक्की ड्रबाट छानिएँ । पहिलो लटमै उड्न पनि पाएँ,’ उनले भनिन् ।
राईसहित ९९ जना बुधबार इजरायल उडे । जसमा ६३ महिला र ३६ पुरुष छन् । पहिलो चरणमा १ सय २५ जना उड्ने तय भए पनि २६ जना कोरोना पोजिटिभ देखिएपछि रोकिए । चार चरणको छनोट प्रक्रिया पूरा गरेपछि मात्रै उनीहरू इजरायल जान योग्य बनेका थिए । अंग्रेजी भाषा परीक्षामा ७ हजार सहभागी भए पनि सबैले रोजगारीको मौका पाएनन् ।
इजरायलले सेवा केन्द्रमार्फत अशक्त वृद्धवृद्धालाई दीर्घकालीन हेरचाह सेवा उपलब्ध गराउँछ । तिनै सेवा केन्द्रमा काम गर्न नेपालबाट सहायक श्रमिक लैजान सुरु गरिएको हो । सरकारी प्रक्रियाबाट छनोट भएकाले अनावश्यक खर्च तिर्नु नपरेको उनीहरूको बताए ।
‘म प्लस टु सकेर पढाउँदै थिएँ । महिलाका लागि इजरायल सुरक्षित गन्तव्य भन्ने सुनेकी थिएँ । इजरायलमा खुल्दै छ भन्ने थाहा पाएपछि तयारी थालें,’ राईले भनिन्, ‘सरकारी संलग्नता हरेक प्रक्रिया पारदर्शी थियो ।’ राईसँगै लाइनमा उभिएकी अर्की एक महिलाको अनुहार भने मलिन थियो । आफू बाध्यताले विदेश जान लागेको उनले सुनाइन् । ‘छोरीका लागि जाँदै छु । तर छोरीलाई छाडेर जाँदै छु,’ आफ्नो बाध्यताको पोको उनले फुकाइन् ।
केयरगिभरका लागि मासिक तलब ५३ सय सेकेल ९झन्डै दुई लाख रुपैयाँ० निर्धारण गरिएको छ । बस्न र खानाको खर्च श्रमिक आफैंले व्यहोर्नुपर्छ । दिनमा चार घण्टाभन्दा बढी ओभरटाइम गर्न नपाइने नियम बनाइएको छ । उनीहरूले अशक्त वृद्धवृद्धाको दैनिक जीवनका गतिविधिलाई सहज बनाउन सहयोग पुर्याउने, खाना खुवाउने, व्यायाममा मद्दत गर्ने, सुरक्षित महसुस गराउनेलगायत काम गर्नुपर्नेछ ।
महिला र पुरुषका लागि अलग अलग सुविधासहितको बासस्थान रोजगारदाताले नै उपलब्ध गराउनुपर्नेछ । बासस्थान र कार्यस्थलमा जाने, आउने व्यवस्था पनि रोजगारदाताबाटै हुने सम्झौतामा उल्लेख छ । इजरायल जाने नेपालीले रोजगारदाताबाहेक अरू कुनै व्यक्ति वा संस्थाका लागि बिदाको दिनमा समेत काम गर्न पाउने छैनन् । कान्तिपुरमा खबर छ ।