Trending :
 

बन्दाबन्दी हुने आशङ्कामा वैदेशिक शिक्षाका लागि बाहिरिनेको लर्को

माघ ०७,२०७८

-आस्था न्यूज

माघ ७, २०७८ काठमाडौं ।
ओमिक्रोन भेरियन्टका कारण बन्दाबन्दी हुन सक्ने डरले वैदेशिक शिक्षाका लागि बाहिरिन चाहने नेपाली विद्यार्थीको सङ्ख्या केही दिनयता ह्वात्तै बढेको छ । 
 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन शाखामा अचेल दैनिक सात सयभन्दा बढी विद्यार्थीको लर्को लाग्ने गरेको छ । जबकि ओमिक्रोन तीव्र रूपमा फैलिनुअघि दैनिक तीन सय विद्यार्थीले नो अब्जेक्सन लेटर लिने गरेका थिए ।
 
शाखाका प्रमुख हरि निरौलाले अब विदेशमा पनि बन्दाबन्दी सुरु हुन्छ र ढिला गरेमा आफूहरू विदेश जान नपाउने भन्ने डर विद्यार्थीमा देखिएको बताउँदै भन्नुभयो, “यसै डरले केही दिनयता नो अब्जेक्सन लेटर लिनेहरूको भीड दोब्बरले बढेको छ ।” नो अब्जेक्सन लेटर लिनका लागि बिहीबार ७१७ जनाको आवेदन परेको छ । गत वर्ष करिब ३१ हजारले नो अब्जेक्सन लेटर लिएका थिए भने चालू आर्थिक वर्षमा गत साउनदेखि पुस मसान्तसम्ममा करिब ३० हजारले यस्तो लेटर लिइसकेका छन् ।
 
अनलाइनका माध्यमबाट आवेदन फाराम बुझाउन सकिने र विद्यार्थीले अनलाइनबाटै बुझाएका शैक्षिक प्रमाणपत्रको सत्यापनपछि सो शाखाले सम्बन्धित विद्यार्थीलाई बैङ्कमा रकम जम्मा गर्ने जनाउ दिन्छ । 
 
बैङ्कमा रकम जम्मा गरेर नो अब्जेक्सन लेटर लिनका लागि मात्र सो शाखामा गए पुग्नेमा आवेदन फाराम बुझाइसकेपछि अनावश्यक रूपमा विद्यार्थी केशरमहल परिसरमा पुग्ने गरेका छन् ।
 
“सामाजिक दूरी कायम गरी विद्यार्थीलाई व्यवस्थापन गर्न प्रहरीको सहायता लिँदा पनि भीड व्यवस्थापन गर्न कठिनजस्तै भएको छ,” शाखा प्रमुख निरौलाले थप्नुभयो, “कर्मचारीलाई पनि स्वास्थ्य समस्या देखिएको छ । कर्मचारी अभाव भएकाले बिदामा बस्न नदिई काममा लगाइएको छ । गोरखापत्रमा खबर छ ।