Trending :
 

चैतमा पानी दिने गरी मेलम्चीमा धमाधम काम हुँदै

माघ २६,२०७८

-आस्था न्यूज

माघ २६,२०७८ काठमाडौं ।
मेलम्ची खानेपानी आगामी चैतभित्रै अस्थायी रूपमा राजधानी पु¥याउने योजनासाथ आयोजनाको मुहान क्षेत्रमा मर्मत सम्भारको काम तीव्र रूपमा हुँदैछ । गत असार १ गतेको बाढी पहिरोले क्षतिग्रस्त मुहान क्षेत्रका संरचनाको मर्मत तथा गेग्य्रान पन्छाउने काम भइरहेको छ ।
 
मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मुहानस्थल अम्बाथान मुख्य बाँधस्थलको लेदो सफा गर्ने, अस्थायी बाँध मर्मत सम्भार गर्ने काम तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो । बाढीले क्षतिग्रस्त आयोजनाको मुख्य संरचना १० मिटरसम्म पुरिएको थियो । चिनियाँ ठेकेदार निर्माण कम्पनी सिनो हाइड्रोले माघ १३ गतेदेखि उक्त काम गरिरहेको छ ।
 
बाढीले आयोजनाको मुख्य प्रवेशमार्गको आठ किलोमिटर सडकखण्ड पूर्ण रूपमा ध्वस्त बनाएको थियो । चनौटेसम्मका सडक आंशिक क्षति गरेको थियो । चनौटेबाट अम्बाथान पुग्ने आठ किमि सडक र पक्की पुल बाढीले पूर्ण रूपमा ध्वस्त बनाएको थियो । नदीको सतहबाट दुई किमिसम्म ढुङ्गा, गिट्टी, बालुवालगायतका पदार्थले पुरिएको छ ।
 
हाल १२ वटा डोजर, स्काभेटर र २२ वटा टिप्पर प्रयोग गरेर आयोजनास्थलमा जम्मा भएका गेग्य्रान, बालुवा, ढुङ्गा हटाउने काम भइरहेको छ । मुहानस्थल अम्बाथान बालुवा, गिट्टी भेटिएको छ तर तल्लो क्षेत्रमा ठूलाठूला ढुङ्गा भेटिएपछि विस्फोटक पदार्थको प्रयोग गर्नुपर्ने अवस्था भएको प्रवक्ता पन्तले बताउनुभयो । ढुङ्गा फुटाउन नेपाली सेनासँग विस्फोटक पदार्थ माग गरिएको उहाँले जानकारी दिनुभयो । गोरखापत्रमा खबर छ ।