Trending :
 

छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब

माघ २७,२०७८

-आस्था न्यूज

माघ २७, २०७८ काठमाडौं । 
चालु आर्थिक वर्षको छ महिनामा कूल व्यापार घाटा रु आठ खर्ब ८० अर्ब ४९ करोड कायम भएको छ । आयातमा उल्लेख्य वृद्धि भएका कारण व्यापार घाटामा वृद्धि भएको हो । 
 
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको छ महिनाको विवरणअनुसार कूल वस्तु व्यापार घाटा ४६.६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५.८ प्रतिशतले घटेको थियो ।
 
समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.२ प्रतिशत रहेको थियो ।
 
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु एक खर्ब १० अर्ब ९१ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु ८३ अर्ब एक करोड बराबरको भएको थियो । 
 
चालू आवको छ महिनामा कूल वस्तु निर्यात ९५.५ प्रतिशतले वृद्धि भई रु एक खर्ब १८ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६.१ प्रतिशतले वृद्धि भएको थियो ।
 
गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १२१.८ प्रतिशत र ३०।२ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १०.२ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, जुस, ऊनी गलैँचालगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, चिया, जडीबुटी, जस्तापाता, तारलगायतका वस्तुको निर्यात घटेको छ ।
 
यस्तै कूल वस्तु आयात ५१.१ प्रतिशतले वृद्धि भई रु नौ खर्ब ९९९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.८ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३७.५ प्रतिशत, ५१.५ प्रतिशत र ९८.२ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।
 
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, यातायातका साधन तथा पार्टपूर्जा, कच्चा सोयाविन तेललगायतका वस्तुको आयात बढेको छ भने एमएस विलेट, सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशकलगायतका वस्तुको आयात घटेको छ ।
 
निर्याततर्फ कञ्चनपुर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । समीक्षा अवधिमा चालु खाता रु तीन खर्ब ५४ अर्ब सात करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु ५१ अर्ब ६८ करोडले घाटामा रहेको थियो ।
 
समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर २० प्रतिशतले कमी आई रु पाँच अर्ब ४८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४८.१ प्रतिशतले वृद्धि भई रु ११ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु छ अर्ब ८५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु सात अर्ब ६६ करोड रहेको थियो । गोरखापत्रमा खबर छ ।