एमसीसी सम्झौता र गठबन्धन बचाउन दलहरु फेरि संयमित छलफलमा
-आस्था न्यूज
फागुन १४, २०७८ काठमाडौं ।
एमसीसी सम्झौता र सत्ता गठबन्धन बचाउन सत्ता साझेदार फेरि संयमित छलफलमा जुटेका छन् । माओवादी र एकीकृत समाजवादीको सरोकार सम्बोधन गर्न सम्झौताको व्याख्यात्मक घोषणा संसद्बाट पारित गर्न कांग्रेस सकारात्मक भएको छ । कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेबीच पनि समानान्तर वार्ता भइरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई चरणमा वार्ता गरेपछि दबाबमा परेका माओवादी र एकीकृत समाजवादीले आन्तरिक बैठकमा गठबन्धन भत्किँदा आइपर्ने चुनौती र त्यसले आगामी निर्वाचनमा पार्ने असरबारे विमर्श गरेका थिए । त्यसपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले मध्यमार्गी विकल्पमा एमसीसी टुंग्याउने र गठबन्धन जोगाउन प्रयास गर्ने निर्णय लिएका छन् ।
समाजवादीका महासचिव बेदुराम भुसालले यथास्थितिमा एमसीसी अनुमोदन नगर्ने तर परिमार्जनका लागि विभिन्न विकल्पमा छलफल भएको बताए । तर निष्कर्षमा पुग्न बाँकी रहे पनि एमसीसीकै कारण गठबन्धन नटुट्ने दाबी उनको छ । ‘मन्त्रीहरूले आफ्नै सरकारको प्रस्तावको विपक्षमा मतदान गर्न नैतिक रूपले नमिल्ला । त्यसकारण हामी सरकारबाट हट्नुपर्ला,’ भुसालले भने, ‘सरकारबाट हटे पनि प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता नभएसम्म गठबन्धन टुट्दैन नि, त्यसअघि सहमतिको सम्भावना छँदै छ ।’
वार्तामा सहभागी नेताहरूका अनुसार अहिले दुई विकल्पमा छलफल भइरहेको छ । ‘पहिलो, संसदीय घोषणामार्फत फेससेभिङ गर्ने वा अनुपस्थित भएर अनुमोदनमा सहयोग गर्ने, यी दुवै विकल्पमा छलफल भइरहेको छ,’ उनले भने । उनका अनुसार गठबन्धनमा रहेका दलबीच साझा धारणा बनाएर आइतबारको संसद् बैठकबाट सम्झौता अघि बढाउने सम्भावना छ । कान्तिपुरमा खबर छ ।