लोक सेवा आयोगमार्फत विभिन्न संस्थानले आह्वान गरेको विज्ञापनको प्रक्रिया अवरुद्ध
-आस्था न्यूज
फागुन १४, २०७८ काठमाडौं ।
लोक सेवा आयोगमार्फत विभिन्न संस्थान र सङ्गठित संस्थाले कर्मचारी पदपूर्ति गर्न आह्वान गरेको विज्ञापनको प्रक्रिया अवरुद्ध बनेको छ । विज्ञापन समावेशी नभएको दाबी गर्दै थारू कल्याणकारी सभाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकाले अवरुद्ध बनेको हो ।
सभाले पछिल्लो समय राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल राष्ट्र बैङ्क, नेपाल टेलिकम, नेपाल प्रहरी, शिक्षक सेवा आयोग, नेपाली सेना, बीमा कम्पनीलगायतका संस्थाले आह्वान गरेको विज्ञापनविरुद्ध मुद्दा दायर गरेको छ ।
सभाले लोक सेवाबाट भएको विज्ञापनमा समावेशी नभएको दाबी गर्दै पुस १२, माघ ५ र २५ गते सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेको थियो । सभाका महामन्त्री पे्रमीलाल चौधरीले संविधानले सुनिश्चित गरेको सुविधाबाट आफूहरूलाई वञ्चित गरिएकाले मुद्दा दायर गरिएको बताउनुभयो ।
मुद्दा परेकामध्ये राष्ट्र बैङ्क, वाणिज्य बैङ्क, नेपाल प्रहरी तथा टेलिकमको पदपूर्ति प्रक्रिया रोक्न अदालतले अर्को आदेश नभएसम्म पदपूर्ति प्रक्रियाअघि नबढाउन सर्वोच्च अदालतले आदेश दिएको छ । लोक सेवा आयोगका सुरक्षा निकाय तथा सङ्गठित संस्थातर्फको परीक्षा सञ्चालन शाखाका प्रमुख उपसचिव नारायण ज्ञवालीले विज्ञापनअनुसार आवेदन सङ्कलन गरे पनि अदालती प्रक्रिया नटुङ्गिएकाले परीक्षा प्रक्रिया रोकिएको बताउनुभयो ।
उहाँका अनुसार राष्ट्र बैङ्कले आह्वान गरेको विभिन्न पदका लागि २० हजार तथा वाणिज्य बैङ्कका लागि आन्तरिक तथा खुला प्रतिस्पर्धा परीक्षामा सहभागी हुन एक लाख २५ हजार जनाको आवेदन परेको छ । टेलिकमको विज्ञापनमा २० हजार तथा नेपाल प्रहरीको निरीक्षक छनोटसम्बन्धी विज्ञापनमा पाँच हजारले आवेदन दिएका छन् ।
लोक सेवा आयोगको परीक्षा अवरुद्ध हुँदा विभिन्न पदका करिब तीन लाख आवेदक मर्कामा परेका छन् ।प्रहरीले जवानको भर्नासम्बन्धी विज्ञापनमा भने रिट नपरेको उपसचिव ज्ञवालीले जानकारी दिनुभयो । शिक्षक सेवा आयोग, बीमा कम्पनी र नेपाल सेनाले आह्वान गरेको विज्ञापनमा उजुरी परे पनि प्रक्रिया रोक्न अदालतले आदेश दिएको छैन । शिक्षक सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले भन्नुभयो, “शिक्षकका विज्ञापन प्रक्रियालाई अदालतले रोकेको छैन । हामीले परीक्षा प्रक्रिया अघि बढाएका छौँ । ” उहाँका अनुसार शिक्षकका सबै तहका आन्तरिक तथा खुला प्रतिस्पर्धाका लागि दुई लाख ४८ हजारले आवेदन दिएका छन् । गोरखापत्रमा खबर छ ।