Trending :
 

शिशुलाई न्यानो पार्ने उपकरण र मोटरसाइकलको इन्जिनबाट चल्ने एम्बुलेन्स बन्दै

फाल्गुण १५,२०७८

-आस्था न्यूज

फागुन १५, २०७८ काठमाडौं ।
 
प्रविधि विकास वा आविष्कारका लागि तीन वर्षको समय पर्याप्त होइन, न त लामो नै । त्यस अवधिमा भएको १० करोड रुपियाँ खर्च पनि धेरै होइन । जनस्तरबाट जम्मा भएको रकम आधार मान्ने हो भने त यो रकम निकै हो पनि ।
 
समय, खर्चको स्रोत र रकमका आधारमा नतिजा हेर्दा अझ सन्तोषजनक आधार देखिन्छ । राष्ट्रिय आविष्कार केन्द्रले विकास वा आविष्कार गरेका दुई दर्जन औजार तथा उपकरण परीक्षण अन्तिम चरणमा छन् । केही परीक्षणमा सफल भएर प्रयोगमा आइसकेका छन् । केन्द्रका अध्यक्ष डा। महावीर पुनका अनुसार केन्द्र स्थापना भएको तीन वर्ष भएको छ । अहिलेसम्म १५ करोड सङ्कलन र १० करोड रुपियाँ खर्च भएको छ । स्वदेश तथा विदेशमा बसेका नेपाली तथा विदेशीको सहयोगबाट केन्द्र चलेको छ ।
 
शिशुलाई न्यानो उपहार
केन्द्रले स्वास्थ्य, कृषि र कृषि उद्यम तथा बजारका लागि आवश्यक प्रविधिको अनुसन्धान र विकास गर्दै आएको छ । केन्द्रले न्यानो नानी (शिशुलाई बिजुलीबाट न्यानो पार्ने उपकरण) निर्माण गरेर परीक्षणका लागि विभिन्न अस्पतालमा पठाइसकेको छ । अस्पतालले त्यसलाई रुचाएका छन् । यो उपकरण भारतमा इन्जिनियरिङ विषय पढेर आएका विद्यार्थीको समूहले बनाएको हो ।
 
पछिल्लो समय अस्पतालमा प्रयोग हुने एक्स-रे, गामाक्यामरा, एमआरआई, सिटीस्क्यानलगायत सबै प्रकारका उपकरणको गुणस्तर परीक्षण गर्ने उपकरण पनि केन्द्रले ल्याएको छ । यो उपकरण ८७ लाख रुपियाँ मूल्यमा अमेरिकाबाट दुई साता अघि मात्रै ल्याइएको अध्यक्ष पुनले जानकारी दिनुभयो ।
 
अहिले ठुल्ठूला अस्पतालले गुणस्तर परीक्षण गराउन भारतबाट विज्ञ झिकाउने गरेका छन् । साना लगानीका अस्पतालले भने परीक्षण नै गराउँदैनन् । यस्ता उपकरण परीक्षण नगराउँदा अस्पतालअनुसार एकै बिरामीको रक्त परीक्षणलगायतका रिपोर्ट फरक–फरक आउने गरेको छ । केन्द्रले अब त्यो समस्या समाधान गर्ने योजना बनाएको छ ।
 
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा मेकानिकल इन्जिनिरिङ अध्ययन गरिरहेका छ जना विद्यार्थीको समूहले रोटरी क्लब अफ विराटनगरको अनुरोधमा मोटरसाइकलको इन्जिनबाट चल्ने एम्बुलेन्स बनाउँदै छ । मोटरसाइकलसँगै बिरामी सुत्न मिल्ने ओछ्यान जोडिएको छ । ओछ्यानमा पाङ्ग्रा पनि जोडिएको छ । त्यसका लागि क्लबले हिरो होन्डा कम्पनीको नयाँ मोटरसाइकल किनेर दिएको हो । गोरखापत्रमा खबर छ ।