चैतमै उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने तयारी
-आस्था न्यूज
फागुन १६, २०७८ काठमाडौं ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले निर्धारित समयमा नै काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण हुने बताउनुभएको छ । उहाँले मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो । यसअघि नै सरकारले यसै वर्षको चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्ने प्रतिबद्धता गरिसकेको छ ।
नेपाल खानेपानी संस्थानको ३३औँ वार्षिकोत्सवको अवसरमा संस्थान प्राङ्गण त्रिपुरेश्वरमा आइतबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले न्यूनतम महसुलमा सर्वसुलभ किसिमले उपभोक्ताले स्तरीय पानीको उपभोग गर्न पाउन् भन्ने चाहना सरकारको रहेको स्पष्ट पार्नुभयो । २०४६ फागुन १५ गते नेपाल खानेपानी संस्थानको स्थापना भएको थियो ।
उहाँले संविधानले गुणस्तरीय खानेपानीको पहुँचलाई नागरिकको मौलिक हकका रूपमा लिएको तथा सरकारले लिएको ‘एक घर एक धारा’ को नीतिलाई सार्थक तुल्याउन नेपाल खानेपानी संस्थानको भूमिका महìवपूर्ण हुने चर्चासमेत गर्नुभयो ।
संस्थानले आफ्नो सेवालाई मुलुकभरि विस्तार गर्नुपर्ने बताउँदै उहाँले यसका लागि तत्काल सर्वेक्षण ९सर्वे० कार्य सुरु गर्न व्यवस्थापनलाई निर्देशनसमेत दिनुभयो । सेवा विस्तारका लागि मन्त्रालयले सहयोगका लागि प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । अहिले खानेपानी संस्थानले मुलुकको २३ वटा मुख्य सहरमा सेवा प्रदान गर्दै आएको छ । दिगो विकास लक्ष्य, सन् २०३० पूरा गर्नमा समेत खानेपानी संस्थानले ठूलो भूमिका निर्वाह गर्न सक्ने मन्त्री चौधरीको धारणा छ ।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले अबको दिनमा परम्परागत ढङ्गले खानेपानी संस्थान अगाडि बढ्न नसक्ने बताउँदै संस्थान व्यावसायिक र प्रतिस्पर्धी हुन सकेन भने हरेक नागरिकलाई गुणस्तरीय पानी उपलब्ध गराउने संविधान प्रदत्त अधिकारको कार्यान्वयनका लागि सरकारले यस कार्यमा निजी क्षेत्रलाई समेत सहभागी गराउन सक्ने स्पष्ट पार्नुभयो ।
खानेपानी संस्थानको सेवा नागरिक मैत्री हुन नसकेको आम गुनासो रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “अहिले संस्थानको पानी चुहावट ४५ प्रतिशत छ । यस्तो अवस्थामा संस्थान कसरी उँभो लाग्न सक्छ । ’” उहाँले चुहावटलाई १५ प्रतिशतमा झार्न संस्थान व्यवस्थापनलाई निर्देशनसमेत दिनुभयो । उहाँले पारदर्शिता, मितव्ययिता र व्यावसायिकतालाई मूलमन्त्र मानेर काम गर्न कर्मचारीलाई आग्रहसमेत गर्नुभयो । गोरखापत्रमा खबर छ ।