काठमाडौँ-तराई-मधेस द्रुत मार्गमा पर्ने सुरुङ मार्गको निर्माण सुरु
-आस्था न्यूज
फागुन १७, २०७८ काठमाडौं ।
काठमाडौँ-तराई-मधेस द्रुत मार्गमा पर्ने सुरुङ मार्गको निर्माण सुरु भएको छ । द्रुत मार्गमा तीनवटा सुरुङ बन्ने डिजाइन गरिएको छ । द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाका अनुसार द्रुत मार्गको प्याकेज १ र २ को सुरुङ मार्गको डिजाइन सम्पन्न भई स्वीकृतसमेत भइसकेको छ ।
सैनिक प्रवक्ता नारायण सिलवालले सुरुङ मार्गका दुइटै प्याकेजको डिजाइन तथा ड्रइङ स्वीकृत भई साइट क्लियरेन्स र प्रिपे्रसन तथा क्याम्प स्थापना गरी अहिले सुरुङ मार्ग निर्माण सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार अबको तीन वर्षभित्र सुरुङ मार्गको निर्माण सम्पन्न हुनेछ ।
दुई चरणमा निर्माण गरिने सुरुङ तथा मोटरेबल पुल निर्माणका लागि गत वैशाख ३१ गते नेपाली सेनाले दुईवटा चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । सुरुङको प्याकेज-१ का लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र प्याकेज-२ का लागि पोली च्याङ्दा कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार दुईवटै प्याकेजको निर्माण तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने हुन्छ ।
उहाँका अनुसार द्रुत मार्गमा पर्ने कुल ६.०७ किलोमिटरको तीन खण्डका सुरुङ मार्ग तथा पुल मार्ग (हाई ब्रिज) दुई प्याकेजमा निर्माण गरिँदै छ । पहिलो प्याकेजअन्तर्गत आयोजनाको सबभन्दा लामो सुरुङ मार्ग महादेवडाँडा खण्डमा निर्माण गरिँदै छ । यस खण्डमा निर्माण गरिने सुरुङ मार्ग र हाई ब्रिजको कुल लम्बाइ ३।३०० किलोमिटर रहेको छ । गोरखापत्रमा खबर छ ।