उपत्यकाको चक्रपथभित्र पाँच सय स्थानमा ‘फायर हाइड्रेन्ट’ स्थापना गरिने
-आस्था न्यूज
फागुन २२, २०७८ काठमाडौं ।
राजधानीमा बढ्दै गएको आगलागी जोखिमलाई दृष्टिगत गर्दै उपत्यकाको चक्रपथभित्र पाँच सय स्थानमा ‘फायर हाइड्रेन्ट’ स्थापना गरिने भएको छ । दमकलले पानी भर्न मिल्नेगरी प्रविधि जडान गरिनुलाई ‘फायर हाइड्रेन्ट’ भनिन्छ । मेलम्ची आयोजनाले पानी वितरणका लागि पाइप जडान भइसकेका क्षेत्रमा अहिलेसम्म २५० स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान गरिसकेको छ ।
बाँकी क्षेत्रमा सो प्रविधि जडान गर्ने स्थानसमेत पहिचान भई काम अगाडि बढाइएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । सहरी क्षेत्रमा आगलागी जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि ‘फायर हाइड्रेन्ट’ प्रविधि अन्तर्राष्ट्रिय रूपमै प्रभावकारी मानिन्छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठले राजधानीमा पानी वितरण तयारीसँगै ‘फायर हाइड्रेन्ट’ जडानसमेत सुरु गरिएको जानकारी दिनुभयो ।
घना बस्ती र आवादीका कारण आगलागी जोखिम बढ्दै गएको राजधानीमा मेलम्चीको पानी वितरणसँगै आगलागी नियन्त्रण, दैवीप्रकोप तथा विपत् व्यवस्थापनका लागि सहज र उपयोगी हुने‘फायर हाइड्रेन्ट’ सञ्चालनमा ल्याउन लागिएको हो । थप माग र आवश्यकताका आधारमा अरू ठाउँमा ‘फायर हाइड्रेन्ट’ जडान गरिनेछन् ।
‘फायर हाइड्रेन्ट’ सञ्चालनका लागि कार्यविधिसमेत निर्माण भइरहेको छ । गृह मन्त्रालयको अनुमति तथा सम्बन्धित स्थानीय तहको समन्वयमा ‘फायर हाइड्रेन्ट’ स्थापना कार्य भइरहेको छ । मेलम्चीको पाइपलाइन जडान हुने ठाउँको प्रत्येक पाँच–पाँच सय मिटरको दूरीमा ‘फायर हाइड्रेन्ट’ राख्ने लक्ष्य रहेकोे छ ।
‘फायर हाइड्रेन्ट’ स्थापनासँगै राजधानीको आगलागी नियन्त्रण तथा विपत् व्यवस्थापन कार्यमा मद्दत पुग्ने विश्वास गरिएको छ । अहिले राजधानीको चक्रपथभित्र मुख्य गरी आवासीय तथा मुख्य व्यापारिक क्षेत्रमा यो प्रविधि स्थापना गर्न लागिएको छ । राजधानीमा आगलागीजस्तो विपत्ति पूर्वतयारीका रूपमा पनि यस कार्यलाई लिन सकिने आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार, पानीको पाइप बिछ्याउनेक्रममै चक्रपथभित्र यो प्रविधि राख्ने स्थान पहिचान भइसकेको थियो । सो प्रविधि स्थापनाका लागि सम्बन्धित ठाउँमा चिह्न लगाउने काम सम्पन्न भइसकेको छ । गोरखापत्रमा खबर छ ।