Trending :
 

अनलाइनबाटै निजामती कर्मचारीको पेन्सन पट्टा कार्यान्वयन गर्ने तयारी

फाल्गुण २३,२०७८

-आस्था न्यूज

फागुन २३, २०७८ काठमाडौं ।
अवकाश पाएपछि निजामती कर्मचारीले पेन्सन पट्टालगायतका कागजात तयार गर्न किताबखाना धाउनुपर्ने अवस्था अन्त्य गरिने भएको छ । किताबखानाले सबै निजामती कर्मचारीको व्यक्तिगत विवरणसहितको कर्मचारी सङ्केत नम्बर डिजिटलाइजेसन गरी ई-पेन्सन प्रणाली कार्यान्वयन गर्न लागेकाले कर्मचारी अवकाश हुँदा किताबखानासम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य गर्न लागिएको हो ।
 
राष्ट्रिय किताबखाना (निजामती)का महानिर्देशक बाबुराज श्रेष्ठले ई-पेन्सन प्रणाली कार्यान्वयनका लागि अहिले विज्ञसहितको टोलीले अध्ययन गरी प्रतिवेदन तयार गर्न लागेको जानकारी दिनुभयो ।
 
उहाँका अनुसार कर्मचारी अवकाश हुने छ महिना पूर्व नै सम्बन्धित कर्मचारीलाई अनलाइनका माध्यमबाट जानकारी दिने, कर्मचारीले जुनजुन विवरण पठाउनुपर्ने होस सो विवरण अनलाइनकै माध्यबाट पठाउने, मासिक, पेन्सन स्केल पनि अनलाइनबाटै जानकारी दिने र कर्मचारीको सम्बन्धित कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, निवृत्तभरण कार्यालय, पेन्सन लिने बैङ्कबारे अनलाइन माध्यमबाट जानकारी दिइनेछ ।
 
सबै तहका कर्मचारीको नियुक्तिपत्र, नागरिकता, शैक्षिक योग्यता, सरुवा, बढुवा, बिदा, जोडिएको सेवा अवधि, कर्मचारीले पाएको पुरस्कार र विभागीय कारबाहीलगायतका दस्तावेजलाई डिजिटलाइजेसन गरी ई–पेन्सन प्रणाली लागू गर्न लागिएको हो । सबै कर्मचारीको व्यक्तिगत विवरणको अभिलेख डिजिटलाइजेसन भएपछि विस्तृत विवरण कम्युटरमा निश्चित कोड नम्बर हानेपछि प्राप्त गर्न सकिने बताउँदै उहाँले भन्नुभयो, “अबको एक वर्षमा ई-पेन्सन प्रणाली कार्यान्वयनमा ल्याउने गरी काम अगाडि बढाइरहेको छौँ ।”
 
ई–पेन्सन प्रणाली कार्यान्वयनका लागि अहिले पूर्वसचिव एवं राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले विज्ञका रूपमा काम गरिरहनुभएको छ । उहाँले कर्मचारीका सबै कागजात ई–फाइलिङ गर्न लागिएको बताउँदै आगामी दिनमा अवकाश हुने कर्मचारीको ई-फाइलिङ तयार हुँदै जाने जानकारी दिनुभयो ।
 
“विद्युतीय माध्यमबाट नै कागजात पठाउने कर्मचारीले किताबखाना, कोलेनिका र निवृत्तिभरण कार्यालय धाइरहनुपर्ने अवस्था हँुदैन,” उहाँले भन्नुभयो, “सबै कर्मचारीको अनलाइनमार्फत कागजात आएपछि कसैले भनसुन गर्नुपर्दैन । सबै कर्मचारीले न्याय पाउने छन् । खर्च पनि कम हुनेछ ।” अहिले निजामती सेवामा मात्र एक लाख कर्मचारीले पेन्सन लिने गरेको किताबखानाले जनाएको छ । गोरखापत्रमा खबर छ ।