Trending :
 

भारतले महाकाली नदी किनारमा एकतर्फी पक्की तटबन्ध निर्माण गरेपछि ढुंगा हानाहान

फाल्गुण २५,२०७८

-आस्था न्यूज

फागुन २५, २०७८ काठमाडौं ।
एकअर्काको सहमतिबिना सीमा नदीको बहाव प्रभावित हुने संरचना निर्माण गर्न नपाइने भए पनि भारतले दार्चुला सदरमुकामनजिकै नदी किनारमा एकतर्फी पक्की तटबन्ध बनाइरहेको छ ।
 
यो विषयमा स्थानीयले लगातार गुनासो गर्दा पनि सरकारले भारतसँग संवादको पहल नगर्दा तनाव बढेको छ । मंगलबार वारिपारिका सर्वसाधारणबीच भएको तनाव प्रशासनिक पहलपछि मत्थर भएको छ ।
 
नेपाली पक्षलाई औपचारिक जानकारी नदिई भारतले दार्चुला सदरमुकाम पारि महाकाली किनारमा पाँच किलोमिटर लामो तटबन्ध बनाइरहेको छ । ९ मिटर उचाइ र ७ मिटर चौडाइको यो संरचनाबारे दार्चुला प्रशासनले चासो राखे पनि भारतीय पक्षले जानकारी दिएको छैन ।
 
गत पुसबाट तटबन्ध निर्माण भइरहेको ठाउँ २०७० मा बाढी आउनुअघि नेपालको सार्वजनिक जमिन थियो । त्यही स्थानमा जिल्ला वन र भूसंरक्षण कार्यालयको भूभाग रहेको स्थानीयको भनाइ छ । गत वर्ष भौराबगर पारिपट्टि पनि भारतले बाँध निर्माण गरेको थियो, यो भूभाग पनि बाढी आउनुअघि महाकालीवारिको बगर थियो ।
 
आठ वर्षअघिको बाढीले दार्चुला सदरमुकाम क्षेत्रमा व्यापक क्षति गरेको थियो । त्यतिबेला भारतीय क्षेत्रमा तटबन्ध भएका कारण नेपालतर्फ बढी क्षति भएको स्थानीयको भनाइ छ । बाढीपछि नेपालतर्फ पक्की तटबन्ध निर्माण गर्दा भारतीय प्रशासनले अवरोध गरेको थियो । भारतीय पक्षले पत्राचार गरेपछि दुवै देशले नदी किनारको केही भाग छाडेर मात्रै तटबन्ध बनाउने सहमति गरेका थिए । तर, भारतले भने अहिले महाकाली नदी मिचेर तटबन्ध बनाइरहेको स्थानीय बताउँछन् ।
 
‘भारतले पुरानो तटबन्ध नभत्काई त्यसभन्दा १०-१२ मिटर वर नदी किनारमा जग खनिरहेको छ,’ पुलघाटका दानसिंह महरले भने । त्यसको करिब ५० मिटरमाथि भारतले नदीको बहाव नै परिवर्तन गर्न खोजेको छ । महाकाली नगरपालिका-४ स्थित लास्कु खोलानजिक एक्स्काभेटर लगाएर भारतले नदीको बहाव नेपालतर्फ फर्काउन खोजेपछि वारिका नेपालीले विरोध गरेका हुन् । लगातार ढुंगा निकाल्दै आएको एक्स्काभेटर मंगलबार बंगाबगरस्थित नदी किनारसम्म आइपुगेपछि स्थानीय जम्मा भएका थिए । सरकारीस्तरबाट समाधान गर्नुपर्ने यस्तो संवेदनशील मुद्दा सम्बोधन नभएपछि वारि र पारिका सर्वसाधारणबीच ढुंगा हानाहान भएको थियो ।
 
स्थानीय रामसिंह कार्कीका अनुसार वारि करिब डेढ सय नेपाली जम्मा भएका थिए, पारिबाट पनि ठूलै समूह थियो । केहीबेरको ढुंगा हानाहान भएपछि दुवैतर्फ आइपुगेका सुरक्षाकर्मीले थामथुम पारेका थिए । एक्स्काभेटर पारि फर्काएपछि नदीको ढुंगा निकाल्ने काम रोकिएको छ । ‘महाकालीको वारिपट्टि रहेका ठूला ढुंगा लगेर पारि जम्मा गर्ने र नदीको बहाव नेपालपट्टि फर्काउन खोज्दै थिए,’ कार्कीले भने, ‘एक्स्काभेटर फर्काउन नमानेपछि तनाव भएको हो ।’
 
प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय पनि नदीबाट एकतर्फी ढुंगा, बालुवा, गिट्टी उत्खनन गरेर भारतले सीमा क्षेत्रमा तटबन्ध बनाइरहेको बताउँछन् । ‘भारतले तटबन्ध निर्माणमा नेपाली भूभागबाट ढुंगा उत्खनन गरेपछि स्थानीयले आक्रोशित भई ढुंगा हानेको बुझिएको छ,’ उनले भने, ‘उताबाट पनि ढुंगा हानेको सुनियो । पछि दुवैतर्फका प्रशासनको सहयोगमा स्थानीयलाई तितरबितर गरियो ।’
 
प्रजिअ उपाध्यायले नेपाली प्रशासनसँग समन्वय नै नगरी भारतले एकतर्फी एक्स्काभेटर चलाएर महाकाली नदीको बहाव परिवर्तन गर्न खोज्दा समस्या आएको बताए । आजको कान्तिपुरमा खबर छ ।