मिर्गौला दान गर्नेमा महिला धेरै, पाउनेमा भने कम
-आस्था न्यूज
फागुन २६, २०७८ काठमाडौं ।
अधिकारमा पुरुषसँग बराबर हुन दुनियाँका नारी संघर्षरत छन्, तर मानवीय संवेदनामा उनीहरू यति अघि छन् जहाँ पुग्न पुरुषले निक्कै धेरै चेतना विकास गर्नुपर्ने छ । बिहीबार मनाउन लागिएको विश्व मिर्गौला दिवसको सन्दर्भमा कान्तिपुरले संकलन गरेको तथ्यांकअनुसार नेपालका सरकारी तथा निजी अस्पतालमा हालसम्म करिब १७ सय मिर्गौला प्रत्यारोपण गरिएको छ ।
त्यसमध्ये ७२ प्रतिशत दाता महिला छन्, तर मिर्गौला पाउनेमा भने उनीहरूको संख्या जम्मा २२ प्रतिशत छ ।
रोगले पुरुष र महिला भनेर छुट्याउँदैन तर समाज, संस्कार र संवेदनाले छुट्याएकाले पुरुषलाई मिर्गौला चाहिँदा पनि महिला र महिलालाई चाहिँदा पनि महिला नै अघि सर्नुपरेको तथ्यांकले नै पुष्टि गरेको छ । पुरुषलाई मिर्गौला दिन आमा, श्रीमती, दिदीबहिनी र फूपूसमेत अघि सर्छन् । तर महिलाको मिर्गौला प्रत्यारोपण गर्दा अघि सर्ने बाबु, दाजुभाइ, श्रीमान् र छोरा निक्कै कम छन् । त्यसैले धैरै महिलाको प्रत्यारोपण नै रोकिने गरेको छ ।
भक्तपुरको सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा हालसम्म भएका ८ सय १९ प्रत्यारोपणमध्ये ५ सय ८५ जना अर्थात् ७२ प्रतिशत दाता महिला छन् । तर मिर्गौला पाउने महिला भने १ सय ८१ जना अर्थात् २२ प्रतिशत मात्र छन् । ग्रहणकर्ता ६ सय ३८ जना अर्थात् ७८ प्रतिशत पुरुष हुन् ।
केन्द्रका निर्देशक डा। पुकारचन्द्र श्रेष्ठ मिर्गौला दिने र लिनेबीचको लैंगिक असन्तुलनलाई हटाउनु अत्यावश्यक ठान्छन् । ‘जीवन बचाउन महिला र पुरुष सँगसँगै अघि सर्नुपर्छ । यसका लागि थप कानुन र सहुलियतसँगै व्यापक जनचेतना आवश्यक देखिन्छ,’ उनी भन्छन् ।
मिर्गौला दिने महिलामा पनि श्रीमती र आमाको संख्या बढी छ । केन्द्रमा गरिएको प्रत्यारोपणमा २ सय ५० जना अर्थात् ३० प्रतिशत श्रीमती र १ सय ६२ अर्थात् २० प्रतिशत आमा छन् । आमाको उमेर बढी हुने र स्वास्थ्यमा प्रतिकूलता बढी देखिने हुनाले चाहेर पनि कतिपयले दिन मिल्दैन ।
आमाले पनि छोरीको दाँजोमा छोरालाई बढी मिर्गौला दिएको देखिन्छ, यसको मतलब छोरीको भन्दा छोराको जीवन ‘खास’ हो भन्ने सामाजिक भावना कारण रहेको चिकित्सकहरूको भनाइ छ । केन्द्रमा भएका प्रत्यारोपणमध्ये छोरालाई १ सय ६२ अर्थात् २० प्रतिशत आमाले मिर्गौला दान गरेका छन् भने छोरीलाई दान गर्ने आमा ६ प्रतिशत अर्थात् ५१ जना छन् । तर आमालाई चाहिँदा ८ जना छोरीले मिर्गौला दान गरेका छन् भने यस्ता छोरा २ जना मात्र छन् । यस्तै, ७२ जना छोरालाई बुबाले मिर्गौला दिएका छन् । तर जम्मा ५ जना छोराले मात्र यस्तो चुनौती स्विकारेका छन् ।
भाइबहिनीबीच हुने मिर्गौला दानमा दाजुभाइको दाँजोमा ५ गुणा बढी दिदीबहिनीले दान गरेका छन् । केन्द्रमा हालसम्म ४८ जना दिदीबहिनीले दाजुभाइका लागि मिर्गौला दान गरेको देखिएको छ भने दिदीबहिनीका लागि अघि सर्ने पुरुषको संख्या १० जना मात्रै छ ।
त्रिवि शिक्षण र वीर अस्पतालको अवस्था पनि फरक छैन । त्रिवि शिक्षणमा गरिएका ७ सयभन्दा बढी मिर्गौला प्रत्यारोपणमा समेत दातामा महिला र ग्रहणकर्तामा पुरुष नै बढी छन् । युरोलोजिस्ट एवं मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक डा। पवनराज चालिसेका अनुसार अस्पतालमा झन्डै ८० प्रतिशत दाता महिला र ७० प्रतिशत ग्रहणकर्ता पुरुष छन् । त्यस्तै, वीर अस्पतालमा पाँच महिनायता ५ मिर्गौला प्रत्यारोपण गरिएकामा सबै दाता महिला र सबै ग्रहणकर्ता पुरुष छन् । आजको कान्तिपुरमा खबर छ ।