Trending :
 

गिद्धले तीन वर्षदेखि चल्ला कोरल्न छाडे

फाल्गुण २६,२०७८

-आस्था न्यूज

फागुन २६, २०७८ काठमाडौं ।
 
चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा तीन वर्षदेखि नयाँ चल्ला निस्कन सकेको छैन । सन् २००६ मा स्थापना गरी धेरै प्रजनन गराएर वनमा छाड्ने योजना रहेकोमा तीन वर्षदेखि एउटा पनि नयाँ चल्ला निस्कन नसकेको हो । प्रजननका लागि आवश्यक वातावरण, खाद्य सामग्री, उपचार गरे पनि उपलब्धि हासिल हुन सकेको छैन, चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले बताउनुभयो ।
 
स्थापना भएको १६ वर्ष भयो, यो अवधिमा १८ वटा चल्ला कोरल्न सफल भएको छ । त्यसमा एउटा चल्ला मरेको थियो । बाँकी १७ वटा चल्ला हुर्काएर नवलपरासीको पिठौलीमा छाडिएको छ । हामीले गिद्ध प्रजनन केन्द्र नयाँ चल्ला कोरल्ने र वनमा छाड्ने उद्देश्यले स्थापना गरेका हौँ, उहाँले भन्नुभयो, तर सोचेजस्तो उपलब्धि हासिल गर्न सकिएन । तीन वर्षदेखि नयाँ चल्ला निकाल्न सकिएको छैन ।
 
आवश्यक वातावरण त छ तर किन नयाँ चल्ला निस्कँदैन, हामीले अध्ययन गरिरहेका छौँ । गिद्ध र घडियाल गोहीको संरक्षणमा निगरानी गर्दै आउनुभएका चितवन राष्ट्रिय निकुञ्जका डा। विकल्प कार्कीले भन्नुभयो, बन्द खोरमा राखेर प्रजनन गरिएको यो नयाँ प्रयोग हो । तीन वर्षदेखि नयाँ चल्ला कोरल्न नसकेको विषयमा विज्ञसँग छलफल गर्दै आएका छौँ । चल्ला ननिस्केको अण्डाको पोस्टमार्टम गरिएको छ ।
 
त्यसको यही कारण भन्दै निष्कर्ष निकाल्न सकिएको छैन । विदेशमा रहनुभएका विज्ञसँग पनि अवस्थाबारे जानकारी गराएका छौँ, रिपोर्ट पनि देखाएका छौँ, उहाँले भन्नुभयो । यहाँ निस्केर हुर्केका गिद्धलाई नवलपरासीको पिठौलीमा छाड्दा त्यहाँ भने स्वास्थ्य राम्रो भएको डा. कार्कीले जानकारी दिनुभयो । गोरखापत्रमा खबर छ ।