खोप भण्डार गर्ने (कोल्ड रुम) अलपत्र, अनुदानमा आएका खोप विमानस्थलमै थन्किए
-
फागुन २९, २०७८ काठमाडौं ।
जापान सरकारले खोप भण्डारका लागि एक महिनाअघि अनुदानमा दिएका ९ वटा कोल्ड रुम (फ्रिज)मध्ये दुईवटा त्रिभुवन विमानस्थलमै थन्किएका छन् । टेकुस्थित स्वास्थ्य विभागको केन्द्रीय खोप भण्डारका लागि जापानले अनुदानमा दिएका सातवटा फ्रिज भने स्थान अभाव भएपछि प्रदेशमा पठाइएका छन् ।
तीमध्ये पनि हेटौंडा, पोखरा र धनगढीका कोल्ड रुम सञ्चालनमा आउन सकेका छैनन् । केन्द्रमा ठाउँ नभएकै कारण कोभ्याक्सले दुई महिनाअघि उपलब्ध गराएका १० वटा कोल्ड रुममध्ये दुईवटा मात्रै विभागको स्टोरमा जडान गरेर बाँकी प्रदेशमा पठाइएको थियो ।
जापानले अनुदानमा दिएको र कोभ्याक्सबाट प्राप्त हरेक कोल्ड रुममा ४० हजार लिटर खोप भण्डार गर्न सकिन्छ । यस हिसाबले यी कोल्ड रुममा अधिकतम करिब ४० लाख भाइलसम्म खोप भण्डारण गर्न मिल्छ । कोल्ड रुम जडान र ढुवानीको जिम्मेवारी भने संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) को हो ।
कोल्ड रुम प्रयोगविहीन र केन्द्रीय स्तरको अत्याधुनिक खोप भण्डार केन्द्र समयमा नबन्दा कोभिडबाहेकका नियमित खोप पर्याप्त मात्रामा भण्डार गर्न सकिएको छैन । यसको असर पछिल्लो समय टाइफाइडविरुद्धको खोपमा परेको छ । भण्डारस्थल नहुँदा उक्त खोप ल्याउन समस्या भएको स्वास्थ्य विभागका अधिकारीहरू बताउँछन् । चैत दोस्रो साता आइपुग्ने कोभिडविरुद्धको ६२ लाख मात्रा फाइजर खोपको भण्डारमा पनि समस्या पर्न सक्ने भन्दै उनीहरू चिन्तित छन् ।
स्वास्थ्य विभागका महानिर्देशक डा। दीपेन्द्ररमन सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको कोल्ड रुमबारे आफूलाई जानकारी नभएको बताए । विभागका व्यवस्थापन महाशाखा प्रमुख डा। रुद्रप्रसाद मरासिनीले कोल्ड रुमका लागि स्थान व्यवस्थापन गरिरहेको बताए । ‘भ्याक्सिन सेन्टर बनाउन ठेक्का पाएका निर्माण व्यवसायीलाई चाँडै काम अगाडि बढाउन पटक–पटक बोलाएर छलफल गर्यौं,’ उनले भने, ‘पेस्की लिइसकेको छ ।
हामीले त तह लगाउन सकेनौं ।’ युनिसेफको कोल्ड चेन कन्सल्टेन्ट नवराज खड्काले जडान गर्ने एउटा मात्र टोली भएको र सातै प्रदेशमा क्रमशः काम गरिरहेको बताए । ‘एउटा रुम जडान गर्न कम्तीमा दुई दिन लाग्छ,’ उनले भने, ‘विभागले ठाउँ उपलब्ध गराए विमानस्थलबाट ल्याएर जडान गर्न समस्या छैन ।’
टेकुमा बनाउने भनिएको केन्द्रीयस्तरको अत्याधुनिक खोप केन्द्रको जग पनि ढलान भएको छैन । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले अलपत्र अवस्थामा छोड्नु उचित नभएको बताए । केही गरी टेकुमा राख्ने ठाउँ नभए पथलैयास्थित केन्द्रीय स्तरको भण्डार कक्षमा भए पनि व्यवस्थापन गरिने उनको भनाइ छ । विभागको कोल्ड चेन एन्ड भ्याक्सिन व्यवस्थापन शाखा प्रमुख बडेबाबु थापा भन्छन्, ‘फाइजरबाहेक नियमित खोप पनि विस्तारै आउँदै छ, स्थान अभावका कारण कोचाकोच राख्न पनि गाह्रो छ ।’ केन्द्रीय खोप भण्डार कक्ष १ लाख २५ हजार लिटर क्षमताको छ, त्यसमा २५ देखि ३५ प्रतिशत मात्र खोप भण्डार गर्न सकिन्छ ।
सरकारले अझै ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिन सकेको छैन । मंगलबारसम्म कुल जनसंख्याको ६० प्रतिशतले मात्र खोप लगाएका छन् । टेकुस्थित केन्द्रीय स्तरको अत्याधुनिक खोप भण्डार केन्द्र दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी एक वर्षअघि ९२०७७ फागुन ३ मा० नै सम्झौता भएको हो । तर, कुनै काम भएको छैन । ८ करोड ४० लाख २० हजार रुपैयाँमा बनाउने कार्यादेश पाएको कौशल बस्नेतरकुँवर जेभीले त्यसको २० प्रतिशत ९१ करोड ६८ लाख ४ हजार० रकम पेस्की लिइसकेको छ । ठेकेदार कम्पनीले बैंक धरौटी भने ८४ लाख २ हजार रुपैयाँ मात्रै राखेको छ ।
ठेकेदार कम्पनी कौशल बस्नेतका कार्यकारी निर्देशक भक्तबहादुर बस्नेतले खानी बन्द भएकाले ग्राबेल र ढुंगा–गिट्टी नपाएर काम अगाडि बढाउन नसकेको तर्क गरे ।
‘सामान्यतः एक टिपको १५ देखि १६ हजार रुपैयाँ पर्ने ग्राबेल पाए २० हजार तिर्न तयार छु, जग ढलान गर्न १ सय २० टिप ग्राबेल बिछ्याउनुपर्छ,’ उनले भने । टेकुस्थित केन्द्रीय भण्डार कक्षमा स्थान अभाव भएपछि विदेशबाट आएको खोप लिन विभागको आदेशअनुसार प्रदेशस्थित कार्यालयका कर्मचारी त्रिवि विमानस्थलमै पुग्ने गरेका छन् । कोल्ड रुम जडान नहुँदा रेफ्रिजेनेटरजडित भ्यान नभएका प्रदेशमा खोप आपूर्तिमा कठिनाइ हुने गरेको छ । सुर्खेतमा भएको एउटा भ्यान थन्किएको छ । नयाँ खरिदका लागि पनि कुनै पहल भएको छैन । कर्णालीमा भ्यान भए पनि ‘फोरह्वील’ नभएका कारण हुम्ला, जुम्ला, मुगु, कालीकोट, डोल्पाजस्ता दुर्गम जिल्लासम्म खोप पठाउन कठिन हुने गरेको छ ।
गण्डकीमा ठूलो गाडी भएकाले लमजुङजस्ता साँघुरो सडक भएका जिल्लामा पुर्याउन कठिनाइ भएको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र गण्डकी प्रदेश स्वास्थ्यका कोल्ड चेन निरीक्षक हिमलाल सुवेदीले बताए । वाग्मती प्रदेश कार्यालयका कोल्ड चेन टेक्निसियन रवि महतोका अनुसार हेटौंडाबाट अहिले चितवन, मकवानपुर र सिन्धुलीमा मात्र खोप वितरण गरिएको छ । बाँकी जिल्लामा वितरण गर्नुपरे एउटा गाडीले मात्र भ्याउन गाह्रो हुने उनले बताए । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका कोल्ड चेन निरीक्षक देवीराम पौडेलले भ्यान खरिद गर्ने भनेर पटक–पटक भने पनि खरिद नगरेको बताए । ‘कष्टकर यात्रा गरेर गाउँमा खोप पुर्याउन बाध्य छौं,’ उनले भने ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सूचना अधिकारी रामप्रसाद उपाध्यायले भ्यान खरिद गर्न छलफल भइरहेको दाबी गरे । सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका सहप्रवक्ता जगदीश जोशीले आपूर्ति व्यवस्थापन केन्द्रमार्फत सामाजिक विकास मन्त्रालयमा माग गर्न लगाउने बताए । ‘बजेटको व्यवस्था गर्न पहल गर्छौं,’ उनले भने ।
प्रदेश १ कार्यालय विराटनगरको समस्या भने छुट्टै छ । राजधानी पुगेर खोप लिन आउँदाको खर्चबारे महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाउने गरेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कोल्ड चेन निरीक्षक चन्द्रकान्त ठाकुरले बताए । आजको कान्तिपुरमा खबर छ ।