Trending :
 

चैतका लागि निक्षेपको ब्याजदर नबढाउन फेरि ‘भद्र सहमति’

फाल्गुण ३०,२०७८

-आस्था न्यूज

फागुन ३०, २०७८ काठमाडौं । 
चैतका लागि निक्षेपको ब्याजदर नबढाउन बैंक तथा वित्तीय संस्थाले फेरि ‘भद्र सहमति’ गरेका छन् । यही फागुनका लागि नयाँ ब्याजदर प्रकाशन गर्दा (गत माघमा) बैंक तथा वित्तीय संस्थाले त्यसअघिको ‘भद्र सहमति’ खारेज गरेका थिए । सोहीअनुसार फागुनका लागि औसत १० प्रतिशतका दरले निक्षेपको ब्याजदर बढाएका थिए ।
 
त्यति बेला ब्याजदरमा हस्तक्षेप गर्दा बजार स्वतन्त्र रूपमा अघि बढ्न नसकेको भन्दै खारेज गरिएको बताइएको थियो । तर उक्त निर्णय एक महिना पनि टिकेन । सहमति खारेज भएको एक महिनापछि पुनः ब्याजदर नबढाउने निर्णय भएको बैंकर्स संघले जनाएको छ ।
 
‘ब्याजदर बढाए पनि निक्षेप वृद्धि हुने होइन, त्यसले लागत मात्र बढाउँछ,’ बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले भने, ‘लागत बढेपछि कर्जाको ब्याजदर पनि वृद्धि हुन्छ । यसकारण चैतका लागि ब्याजदर नबढाउने सहमति बैंकहरूबीच गरिएको हो ।’ अघिल्ला दुई महिनामा निक्षेपको ब्याजदर स्थिर राखेका वाणिज्य बैंकहरूले यही फागुनमा १० प्रतिशतले निक्षेपको ब्याजदर बढाएका थिए । ब्याजदर बढाएर पनि अपेक्षित रूपमा निक्षेप नबढेकाले पुनः लागत वृद्धि नगराउने पक्षमा बैंकरहरू रहेको उपाध्यायले बताए ।
 
विकास बैंकहरूले चैतका लागि निक्षेपको ब्याजदर स्थिर राख्ने औपचारिक निर्णय भएको डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष प्रद्युमन पोखरेलले बताए । ‘निक्षेपको प्रकृति नै फरक छ, जुन ब्याजदर बढ्दैमा आउँदैन,’ उनले भने, ‘त्यसले ब्याजदर बढाएर लागत नबढाउने निर्णय भएको हो ।’ निक्षेपको ब्याजदर बढाउँदा पनि यही फागुनमा वित्तीय प्रणालीमा अपेक्षित रूपमा निक्षेप थपिएको छैन । तथ्यांकअनुसार यही फागुन पहिलो र दोस्रो साता वाणिज्य बैंकहरूमा १र१ अर्ब रुपैयाँ मात्र निक्षेप थपिएको छ । तर तेस्रो साता बैंकहरूमा थप ११ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । 
 
यस अवधिमा भुक्तानी गर्न बाँकी केही सरकारी खर्चको भुक्तानी भएको, रेमिट्यान्समा झिनो सुधार देखिएकोलगायत कारण तेस्रो सातामा निक्षेप बढेको देखिएको हो । चौथो सातामा नेपाल आयल निगमले इन्धन आयातबापतको भुक्तानी गरेकोलगायत कारण निक्षेपमा सुधारको सम्भावना न्यून रहेको जानकारहरूको भनाइ छ । आजको कान्तिपुरमा खबर छ ।