पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ: उपभोक्ता चर्को मारमा, निगम सधै घाटामा
-आस्था न्यूज
चैत्र ३, २०७८ काठमाडौं ।
युक्रेन-रुस द्वन्द्व र त्यसले सिर्जना गरेको अन्तर्राष्ट्रिय तनावले नेपालमा पनि इन्धनको मूल्य अकासिएको छ । नेपाल आयल निगमले बुधबार मात्रै पनि इन्धनमा पाँच रुपैयाँ मूल्य बढाएको छ । लगातार मूल्य बढ्दा चालु आर्थिक वर्षको फागुनसम्म निगमको घाटा २८ अर्ब रुपैयाँ पुगिसकेको छ । उपभोक्ता मूल्य र निगमको घाटा दुवै बढ्दा पनि चर्को कर पुनरावलोकन गर्न सरकार तयार छैन ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपाली बजारमा इन्धनको मूल्य घटाउन नसकेको निगमले जनाएको छ । मूल्य बढाउँदा पनि पेट्रोलमा प्रतिलिटर २८ रुपैयाँ ५७ पैसा, डिजेलमा ३२ रुपैयाँ १५ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ६ सय ६५ रुपैयाँ ३४ पैसा घाटा रहेको निगमका निमित्त नायब कार्यकारी प्रमुख नागेन्द्र साहले बताए । मट्टीतेलमा भने प्रतिलिटर २४ रुपैयाँ ३४ पैसा नाफा छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मूल्य बढेर आएको जनाउँदै निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य वृद्धि गरेको हो । लिटरमा पाँच रुपैयाँ बढेपछि अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर १३८ रुपैयाँ भएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।
इन्धनमा लगातार भइरहेको मूल्यवृद्धिले सबैजसो उपभोग्य वस्तुको मूल्य प्रभावित पारिरहेको छ । ‘इन्धनको मूल्यवृद्धि हुँदा समग्र बजार प्रभावित हुन्छ । समग्र अर्थतन्त्रमै असर पर्छ,’ पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले भने, ‘अहिले निगमसँगै उपभोक्ता बचाउने सरकारी दायित्व छ । तसर्थ, सर्वसाधारणलाई राहत पुग्ने विकल्प सोच्नुपर्छ ।’
यस्तो बेला मूल्य स्थिरीकरण कोषको प्रयोग गरेर मूल्य समायोजन गर्नुपर्ने र सरकारले निगमलाई ऋण उपलब्ध गराइदिनुपर्ने ओझाको सुझाव छ । इन्धन खपत घटाउनुपर्ने पनि उनले जोड दिए । तर, घाटा चुलिएसँगै निगमले इन्धन खरिद गर्दै आएको आईओसीलाई तिर्नुपर्ने रकम अपुग भएकाले मूल्य स्थिरीकरण कोषबाट रकम झिक्न थालिएको छ ।
आईओसीलाई तिर्नुपर्ने रकम नपुगेपछि कोषबाट दुई पटक गरेर ६ अर्ब ५ करोड रुपैयाँ झिकिसकेका छौं । कोषमा अब करिब ४ अर्ब ४५ करोड रुपैयाँ मात्र बाँकी छ,’ साहले भने, ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र इन्धनको खपत पनि वृद्धि भए कोष रित्तिने सम्भावना छ ।’ निगमले हरेक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आईओसीलाई रकम भुक्तानी गर्दै आएको छ । आजको कान्तिपुरमा खबर छ ।