स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने
-आस्था न्यूज
चैत्र ३, २०७८ काठमाडौं ।
स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने भएको छ । सरकारी स्रोतको दुरुपयोग गर्न सक्ने भन्दै निर्वाचन आयोगले नयाँ आचारसंहितामा यस्तो प्रावधान राखेको हो । आयोगका प्रवक्ता शालिग्राम पौडेलले आचारसंहिता कानुन मन्त्रालयबाट सम्पादन भएर आएपछि राजपत्रमा प्रकाशनका लागि बुधबार साँझ पठाएको बताए ।
स्थानीय तह निर्वाचन ऐनमा स्थानीय तहबाट पारिश्रमिक लिने व्यक्ति उम्मेदवार हुन नपाउने प्रावधान रहेकाले आचारसंहितामा यो प्रावधान राखिएको आयोगले जनाएको छ । ऐनको दफा १३ ‘घ’ मा स्थानीय तहबाट पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेदवार हुन योग्य नहुने उल्लेख छ । जनप्रतिनिधिले पारिश्रमिक नलिए पनि सुविधा लिइरहेका हुन्छन् । उनीहरूले निर्वाचनमा भाग लिनुअघि राजीनामा नदिए उम्मेदवार बन्न रोक लगाउने प्रावधान आचारसंहितामा छ ।
‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व र नियन्त्रणमा रहेको निकाय, स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेको निर्वाचन वा मनोनीत पदाधिकारीले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्नुअगावै बहाल रहेको पदबाट राजीनामा गर्नुपर्नेछ,’ आचारसंहितामा उल्लेख छ ।
पदमा रहेरै निर्वाचन प्रक्रियामा सहभागी हुँदा पदको दुरुपयोग गरी मतदातालाई प्रभावित गर्न सक्ने भएकाले यस्तो प्रावधान राखिएको आयोगले जनाएको छ । नगरपालिका एसोसिएसनका अध्यक्ष अशोककुमार ब्याञ्जुले भने राजीनामा दिनुपर्ने प्रावधान संविधानविपरीत रहेको बताए ।
आचारसंहितामा स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहनेले आफू निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट लिएको पेस्की र आफ्नो नाममा रहेको बेरुजुसमेत फर्स्योट गर्नुपर्ने प्रावधान छ । ‘लेखा परीक्षणबाट कुनै पनि उम्मेदवारको नाममा किटानीसाथ असुलउपर गर्ने भनी कायम भएको बेरुजु फर्स्योट गरेको हुनुपर्नेछ,’ संहितामा उल्लेख छ । कान्तिपुरमा खबर छ ।