राष्ट्रिय युवा परिषद्ले सातवटै प्रदेशमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने

चैत्र १०,२०७८

-आस्था न्यूज

चैत १०, २०७८ काठमाडौं ।
 
युवालाई उद्यमशीलतामा आकर्षित गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद्ले सातवटै प्रदेशमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने भएको छ । त्यसका लागि केही प्रक्रियामा भने युवा संलग्न हुनुपर्नेछ ।
 
नवीनतम सोच लिएका युवालाई केन्द्रमार्फत आवश्यक परामर्शसाथ प्राविधिक तथा व्यावसायिक तालिम प्रदान गरिनेछ । तालिमको माध्यमबाट उनीहरूको रुचिको क्षेत्रमा समयसापेक्ष ज्ञान तथा सीप प्रदान गर्दै स्वरोजगार र उद्यमशील बनाउन नवप्रवर्तन केन्द्रले सहयोग गर्ने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार नवीनतम सोच लिएर केन्द्रमा जाने युवालाई बसोबास, विज्ञको सल्लाहअनुसार प्रशिक्षण, युवाले लिएको सोचअनुसार उत्पादन हुने वस्तु तथा सेवाको बजारलगायतका विषयमा छलफल गरेपछि मात्रै काम अघि बढ्नेछ ।बागमती प्रदेशमा केन्द्र स्थापनाको काम अघि बढिसकेको छ ।
 
बस्नेतका अनुसार यस प्रदेशअन्तर्गत रहने गरी काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा केन्द्र स्थापनाका लागि बहुपक्षीय समझदारी भइसकेको छ । नमोबुद्ध नगरपालिका-८ मा रहेको आरुबारी चौरमा केन्द्र स्थापना हुन लागेको हो । केन्द्रका लागि नगरपालिकाले ५३ रोपनी जग्गा भोगचलनका लागि परिषद्लाई दिएको छ ।
 
समझदारीअनुसार केन्द्र स्थापना र सञ्चालनको मुख्य भूमिका राष्ट्रिय युवा परिषद्ले निर्वाह गर्नेछ । यस्तै नमोबुद्ध नगरपालिकाले जग्गा भोगाधिकार र अभ्यास साझेदारका रूपमा भूमिका निर्वाह गर्नेछ । काठमाडौँ विश्वविद्यालयले ज्ञान साझेदार र आइडिया स्टुडियो नेपालले प्राविधिक साझेदारका रूपमा भूमिका निर्वाह गर्ने परिषद्का प्रशासकीय प्रमुख रमाकान्त शर्माले जानकारी दिनुभयो । गोरखापत्रमा खबर छ ।