स्थानीय निर्वाचनलाई ‘जनादेश र परमादेशबीच’ जनमत संग्रहका रूपमा लिनुपर्छः ओली

चैत्र १०,२०७८

-आस्था न्यूज

चैत १०, २०७८ काठमाडौं ।
 
एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनलाई ‘जनादेश र परमादेशबीच’ जनमत संग्रहका रूपमा लिनुपर्ने बताएका छन्। अध्यक्ष ओलीले बुधबार केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा ‘स्थानीय निर्वाचनलाई सामान्य, नियमित र सहज अवस्थाको’ मान्न नहुने उल्लेख छ। 
 
‘यो निर्वाचन  सामान्य, नियमित र सहज अवस्थामा हुँदै छैन। यो त जनादेश र परमादेशबीचको जनमत संग्रहका रूपमा हुँदै छ’, प्रतिवेदनमा लेखिएको छ, ‘राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिहरूका लागि कम्फर्टेबलहरूका बीचमा हुँदै छ। राजनीतिक स्थायित्वका पक्षधर र अस्थिरताका संवाहकहरूबीच हुँदै छ।’  
 
निर्वाचनको रणनीति बनाउन एमालेले बैठक बोलाएको हो। ‘समृद्धि कि बर्बादी रु’ ‘लोकतान्त्रिक संस्थाहरूको रक्षा कि मानमर्दनबीचको छनोट’का रूपमा पनि यो निर्वाचन भइरहेको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन्। ओलीले निर्वाचन दुई धुव्रबीच भइरहेको जनाएका छन्। ‘एकातिर जनताको विश्वासप्राप्त, गत निर्वाचनमा जनादेशप्राप्त, राष्ट्र र जनताका निम्ति असल काम गर्दा गर्दै षड्यन्त्रपूर्वक सरकारबाट विस्थापित गरिएको एमाले छ। अर्कातिर निर्वाचनबाट किनारा लागेर पनि अदालतको जस्केलाबाट छिरेको दक्षिणपन्थी शक्ति तथा तिनका सहयोगी दल छन्,’ ओलीले लेखेका छन्। 
 
आमनिर्वाचनको पूर्वसन्ध्यामा हुन लागेको यो निर्वाचनले राष्ट्रिय राजनीतिको भावी परिदृश्यको संकेत गर्ने ओलीको भनाइ छ। एमालेले सफलता हासिल गर्ने पर्याप्त आधार रहेको उल्लेख गर्दै प्रतिवेदनमा लेखिएको छ, ‘घेराबन्दी, आक्रमण र दुष्प्रचारका बीचमा पनि हाम्रो पार्टीप्रतिको जनविश्वास अखण्डित र अक्षुण्ण रहनु एवं जनविश्वास दिनप्रतिदिन बढ्दै जाने नै त्यो मुख्य आधार हो। जसले एमालेको जितलाई सुनिश्चित गर्नेछ।’ पाँच दलीय गठबन्धनका कारण एमालेलाई अप्ठ्यारो पर्छ भन्ने मनोवैज्ञानिक प्रभाव पार्न खोजिएको प्रतिवेदनमा उल्लेख छ। अन्नपूर्णमा खबर छ ।