नेपालमा ट्राफिक लाइटको उचाइसम्बन्धी मापदण्ड खोजिँदै

चैत्र ११,२०७८

-आस्था न्यूज

चैत ११, २०७८काठमाडौं ।
नेपालमा ट्राफिक लाइट (बत्ती)को उचाइसम्बन्धी मापदण्ड नहुँदा सवारी दुर्घटना बढ्ने गरेको छ । यसका साथै चालक पनि अनाहक कारबाहीमा पर्ने गरेका छन् । विशेष गरी अग्लो सवारीसाधनका पछाडि रोकिएका साना सवारीका चालकले टाढैबाट स्पष्ट रूपमा बत्ती देख्न नसक्दा सवारी दुर्घटना र अनाहक कारबाहीसँगै ‘जाम’ को सास्ती भोग्ने गरेका छन् ।
 
महानगरीय ट्राफिक महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशी सडक तथा सवारी व्यवस्थापनका लागि जडान गरिएका ट्राफिक लाइटको उचाइ नै स्पष्ट नहुँदा यस्तो समस्या देखिएको बताउनुहुन्छ । “कहिलेकाहीँ अगाडिको ठूलो गाडीलाई ‘ओभरटेक’ गर्न खोज्दा दुर्घटना हुन्छ, टाढासम्म बत्ती देख्न नसक्दा तीव्र गतिमा आएका सवारी ‘लेन’ कारबाहीमा पर्ने गर्छन्” महाशाखा प्रमुख जोशीले भन्नुभयो, “त्यसैले सडकको अवस्थाअनुसार ट्राफिक बत्तीको उचाइ स्पष्ट हुन जरुरी छ ।”
 
“हरियो बत्ती बलिसकेको हुन्छ, बस, ट्रक र कन्टेनरलगायतका अग्ला सवारी चलेका हुँदैनन् तर पनि पछाडि रहेकालाई हतार भइसकेको हुन्छ,” उहाँले थप्नुभयो, “यस्तो बेला दुर्घटना र जामको समस्या हुन्छ । टाढैबाट देखिने गरी बत्ती राख्ने विषयमा छलफल भइरहेको छ ।” ट्राफिक प्रहरी महाशाखाको प्राविधिक टोलीले गरेको स्थलगत अध्ययनका क्रममा पनि ट्राफिक बत्तीको उचाइ नौदेखि २० फिटसम्म रहेको पाइएको छ । सडकको प्रकृतिअनुसार बत्ती राखेको अवस्था देखिँदैन । कहीँ छड्के तथा बाङ्गा छन् ।
 
महाशाखा प्रमुख जोशीका अनुसार फरक क्षमता भएका (अपाङ्गता भएका) व्यक्ति, विद्यार्थी तथा बालबालिका र अशक्त नागरिकमैत्री सडक तथा ट्राफिक बत्तीको व्यवस्था हुन सकेको छैन । रातो, हरियो र नीलो तीन किसिमका बत्ती अनुसार सडक मार्ग गरिएको छैन ।
 
सडक विभागले सडकको प्रकृतिअनुसार मुख्य राजमार्ग (हाइवे), सहायकमार्ग (स्थानीय) र भित्री (सिटी) मार्गमा छुट्टाछुट्टै किसिमको मापदण्ड तयार पारी ट्राफिक बत्ती र मार्किङको तयारी गरेको छ । 
 
विकसित मुलुकले सडकको मापदण्डअनुरूप ट्राफिक बत्ती राख्ने गरेको पाइएको छ । सडक विभागका महानिर्देशक शिवहरि सापकोटाका अनुसार नेपालमा मापदण्डअनुरूप बत्ती राख्ने सम्बन्धमा छलफल सुरु भएको छ । गोरखापत्रमा खबर छ ।