चुनावमा आवश्यकता अनुसार मात्रै गठबन्धन गर्न कांग्रेस केन्द्रका नेताहरुको जोड

चैत्र १२,२०७८

-आस्था न्यूज

चैत्र १२, २०७८ काठमाडौं ।
 
सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नुपर्ने, तर त्यसबारे सम्बन्धित स्थानीय तहबाटै निर्णय लिनुपर्ने धारणा राखेका छन् । 
 
सानेपास्थित केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने नेताहरुले चुनावमा नतिजा आफ्नो पक्षमा पार्न गठबन्धन गर्नुपर्ने, तर त्यस्तो गठबन्धन कहाँ–कसरी गर्ने भन्नेबारे सम्बन्धित स्थानीय तहको मतविभाजनको अवस्था हेरेर निर्णयमा पुग्नुपर्ने धारणा राखेका हुन् ।
 
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनसम्बद्ध दलहरुलाई केन्द्रबाटै गठबन्धन गर्ने आश्वासन दिइरहेका बेला कांग्रेसको केन्द्रीय समितिमा बोल्ने नेताहरुले त्यसबारे कुनै निर्णय गर्न नमिल्ने र आवश्यकताअनुसार सबै दलसँग गठबन्धन गर्ने बाटो खुला राख्नुपर्नेमा जोड दिएका छन् ।
 
सभापति देउवाले बैठक शुभारम्भ गरेपछि महामन्त्री गगन थापाले गत फागुन ३ गते बसेको कार्यसम्पादन समिति बैठकका निर्णयहरु अनुमोदन गर्ने र स्थानीय तहको चुनावलक्षित अभियानको समीक्षाबारे बैठकमा जानकारी गराउने प्रस्ताव पेश गरेका थिए । त्यसपछि बैठकमा नेताहरुले बोल्नेक्रम सुरु भएको थियो ।
 
बैठकमा आमन्त्रित गरिएका प्रदेश सभापतिहरुलाई सुरुमै बोल्ने समय दिइएको थियो । प्रदेश सभापतिपछि चुनावी अभियानमा खटिएका केन्द्रीय सदस्यहरुले बोलेका थिए । नेताहरुले बोल्नेक्रम सकिएको छैन । शुक्रबार करिब ३० जना नेताहरुले धारणा राखेका छन् । बैठकमा बोल्नका लागि ५–५ मिनेट समय विभाजन गरिएको थियो ।
 
केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले बैठकमा बोल्नेमध्ये अधिकांश नेताहरुले चुनावी नतिजा आफ्नो पक्षमा पार्न गठबन्धन गर्नुपर्ने धारणा राखेको जानकारी दिए । ‘धेरै जना नेताहरुले गठबन्धन गर्नुपर्छ भन्ने कुरा नै राख्नुभयो, तर त्यस्तो गठबन्धन गर्ने वा नगर्ने भन्ने निर्णय चाँहि केन्द्रले गर्ने होइन, तल्ला तहबाटै त्यहाँको आवश्यकताअनुसार हुनुपर्छ भन्ने माग उठेको छ,’ उनले भने ।
 
बैठकमा केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, केन्द्रीय सदस्यहरु प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, कर्णबहादुर बुढा, रमा कोइराला ९पौडेल०, कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, नैनसिंह महर, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, प्रा।डा। गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, दिनेश कोइराला, सीताकुमारी राना, शान्ति परियारले धारणा राखेका थिए ।
 
त्यस्तै, प्रदेश सभापतिहरु प्रदेश १ का सभापति उद्धव थापा, मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव, बागमती प्रदेशका सभापति इन्द्रबहादुर वानियाँ, गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले प्रदेशमा कांग्रेसको अवस्थाबारे धारणा राखे ।
 
केन्द्रीय सदस्यहरु दिनेश कोइराला र टेकप्रसाद गुरुङ तथा गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मात्रै अहिले कांग्रेसले गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेकोमा जोड दिएका थिए । तर, यदि गठबन्धन गर्नैपर्ने अवस्था भए पार्टीको संस्थागत लाभलाई केन्द्रमा राख्नुपर्ने उनीहरुको जोड थियो ।
 
कोइराला र गुरुङले बोल्नेबेला सभापति देउवाले तत्कालै प्रतिक्रिया जनाएका थिए ।
 
केन्द्रीय सदस्य दिनेश कोइरालाले कांग्रेस एक्लै चुनावमा जानुपर्ने तर्क प्रस्तुत गरे । कान्तिपुरमा खबर छ ।