चीनसँग केरुङ-काठमाडौँ रेलमार्ग प्रस्ताव

चैत्र १२,२०७८

-आस्था न्यूज

चैत्र १२, २०७८ काठमाडौं ।
 
नेपाल सरकारले प्रस्तावित केरुङ-काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) गरिदिनका लागि जनवादी गणतन्त्र चीनसँग प्रस्ताव गर्ने भएको छ ।
 
नेपाल भ्रमणमा रहनुभएका चीनका विदेशमन्त्री वाङ यीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तर्फबाट यो प्रस्ताव गरिने मन्त्रालयका सहसचिव तथा विकास सहायता समन्वय महाशाखाका प्रमुख केशवकुमार शर्माले जानकारी दिनुभयो ।
 
यसैगरी नेपाल र चीनलाई जोड्ने मुख्य सडकको रूपमा रहेको अरनिको राजमार्गलाई विस्तार गरिदिन समेत नेपालले विदेशमन्त्री वाङसमक्ष प्रस्ताव गरिने महाशाखा प्रमुख शर्माले जानकारी दिनुभयो । नेपाल र चीनको सिमाना तातोपानीस्थित मैत्री पुलदेखि काठमाडौँको माइतीघरसम्म रहेको अरनिको राजमार्ग सन् १९६० मा चीन सरकारले निर्माण गरेको हो । नेपाल र चीनबीचको मित्रताको ‘प्रतीक’को रूपमा लिइएको सो रेलमार्गको निर्माण अनुदान सहयोगमा नै गर्न नेपालले चीनलाई आग्रह गर्दै आए पनि सम्भाव्यता अध्ययनका लागि नेपालले अहिलेसम्म औपचारिक प्रस्ताव गरेको थिएन ।
 
सम्भाव्यता अध्ययन पूूरा भएसँगै प्रस्तावित सो रेल निर्माणको कुल लागत, निर्माणको ‘मोडेल’ लगायतका विषयबारे टुङ्गो लाग्ने महाशाखा प्रमुख शर्माले बताउनुभयो । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा यस रेलमार्गको अध्ययनका लागि दुई मुलुकबीच समझदारी पत्रमा हस्ताक्षरसमेत भएको थियो । भ्रमणकै क्रममा प्रस्तावित उक्त रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० गर्ने दुई मुलुकले संयुक्त घोषणासमेत गरेका थिए ।
 
केरुङ–काठमाडौँ रेल सम्भव
प्रस्तावित सो रेलमार्ग निर्माणका लागि चीनद्वारा यसअघि गरिएको पूर्व सम्भाव्यता (प्रि–फिजिबिलिटी) अध्ययन प्रतिवेदनले उक्त रेलमार्गको निर्माण र सञ्चालन सम्भव रहेको देखाएको छ । चीनले सो प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरणसमेत गरेको छ । प्रतिवेदनअनुसार सो रेलमार्गको लम्बाइ करिब ७२ किलोमिटर हुनेछ । अध्ययनअनुसार सो रेलमार्गमा चारवटा स्टेसन प्रस्ताव गरिएको छस जसमध्ये पहिलो स्टेसन केरुङमा हुनेछ भने काठमाडौँ र केरुङको बीचमा दुईवटा र अन्तिम स्टेसन काठमाडौँ टोखामा हुनेछ । गोरखापत्रमा खबर छ ।