चुनावमा वाम गठबन्धन बनाउन चीनको ‘ट्र्याक टु’ संवाद

चैत्र १५,२०७८

-आस्था न्यूज

चैत १५, २०७८ काठमाडौं ।
 
नेपालमा चुनाव नजिकिँदै गर्दा वामपन्थी गठबन्धनका लागि चीनले ‘ट्र्याक टु’ संवाद अघि बढाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले एमाले र माओवादी केन्द्रका नेताहरूसँग अनौपचारिक तहमा भेटवार्ता र सन्देश आदानप्रदानलाई सघन बनाएको छ । नेपाली नेताहरूको चीन भ्रमण पनि भइरहेको छ ।
 
 
चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि शुक्रबार अपराह्न काठमाडौं उत्रिएकै दिन माओवादी केन्द्रका नेता देव गुरुङ चीनतर्फ उडेका थिए । उनी सोमबार फर्केका छन् । गुरुङ अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन चीन गएको बताइए पनि माओवादी केन्द्रीय कार्यालयमा भ्रमणबारे औपचारिक जानकारी छैन । माओवादी नेता नारायणकाजी श्रेष्ठले गुरुङको चीन भ्रमणबारे आफूलाई थाहा नभएको बताए । गुरुङ ती नेता हुन्, जसले अमेरिकी अनुदानको एमसीसी सम्झौता अनुमोदनको चर्को विरोध गरेका थिए । गुरुङसँगै माओवादी केन्द्रका नेता वर्षमान पुन र ओनसरी घर्ती पनि चीनको कुन्मिङ पुगेका थिए । स्वास्थ्य फलोअपका लागि गएका उनीहरू पनि त्यहाँ आयोजित कार्यक्रममा सहभागी भएका थिए ।
 
गुरुङको भ्रमणपूर्व एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्प कँडेल र प्रदेश सांसद मीना रखालको टोलीले चीनको पाँचदिने भ्रमण गरेको थियो । एमालेले उक्त भ्रमणलाई औपचारिक रूपमा प्रचारमा ल्याएन । पौडेल नेतृत्वको टोली कुन्मिङमा आयोजित ‘इकोनोमिक कर्पोरेसन एन्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुन गएको बताइएको थियो । चैत ७ मा चीन गएको पौडेल नेतृत्वको टोली १२ गते फर्केको थियो । ‘उनीहरू (चिनियाँ) ले अध्यक्ष (केपी शर्मा ओली) सँग नै कुराकानी गरेका थिए, सबै पक्षलाई मध्यनजर गर्दै विष्णुजीको नेतृत्वमा टोली चीन गएको हो,’ एमालेका एक पदाधिकारीले भने ।
 
एमाले र माओवादी केन्द्रका नेताहरूका अनुसार एमसीसी सम्झौता अनुमोदन, चिनियाँ विदेशमन्त्री वाङको नेपाल भ्रमण, बीआरआई परियोजनामा नेपाल सरकारले गरिरहेको विलम्ब र दुई ठूला कम्युनिस्ट पार्टीका नेताको भ्रमण एकअर्कासँग सम्बन्धित छन् । चीनले ‘ट्र्याक टु’ मार्फत वाम गठबन्धन वा एकतामा चासो राखेको उनीहरूको भनाइ छ । कुन्मिङ पुगेको एमाले र माओवादीको छुट्टाछुट्टै टोलीसँग चिनियाँ पक्षले एमसीसी सम्झौता र वाम एकताको सम्भावनाबारे जिज्ञासा राखेको स्रोतले जनाएको छ ।
 
 
स्रोतका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीका नेताले प्रतिनिधि पठाइदिन आग्रह गरेपछि एमाले अध्यक्ष ओलीले पौडेल र माओवादी अध्यक्ष पुष्पकमल दाहालले गुरुङलाई चीन पठाएका हुन् । कांग्रेस नेतृत्वको सरकारले एमसीसी सम्झौता अनुमोदनमा देखाएको अग्रसरता र बीआरआई परियोजना कार्यान्वयनमा गरेको बेवास्ताप्रति चिनियाँ पक्षको मुख्य चासो रहँदै आएको छ । एमालेका एक पदाधिकारीका अनुसार अध्यक्ष ओलीसँग भएको भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङले ‘वामपन्थी गठबन्धन भए उचित हुने’ संकेत गरेका थिए ।
 
चीन भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका नेतासँग भएका भेटघाट र चिनियाँ चासोबारे नेता पौडेलले अध्यक्ष ओलीलाई ब्रिफिङ गरिसकेका छन् । पौडेल नेतृत्वको टोलीसँग पनि चिनियाँ पक्षले वामपन्थी एकता र एमसीसी सम्झौताबारे धारणा बुझेको एमालेका एक नेताले बताए । ‘चिनियाँहरू बोल्छन् कम र बुझ्छन् धेरै । त्यहाँ उनीहरूले एमसीसीबारे पार्टीको धारणा बुझ्न चाहेको र हाम्रो तर्फबाट पनि त्यसमा प्रस्ट पार्ने काम भएको ब्रिफिङ पार्टीमा भएको छ,’ उनले भने, ‘०७४ सालमा जस्तै वामशक्ति एकै ठाउँ आइदिए हुन्थ्यो भन्ने चासो पनि रहेको बताइएको छ ।’ अनुमोदनमा भूमिका नखेले पनि एमसीसी सम्झौतामा एमालेको विरोध छैन । एमसीसी सम्झौता अनुमोदनका लागि ओली नेतृत्वको सरकारले नै संसद्मा पुर्‍याएको थियो । आजको कान्तिपुरमा खबर छ ।