‘सेटिङ’को उजुरी परेपछि राष्ट्रिय पुस्तकालय निर्माणको ठेक्का रद्द

चैत्र १५,२०७८

-आस्था न्यूज

चैत १५, २०७८ काठमाडौं ।
ठेक्का प्रक्रियाको प्रतिस्पर्धा खुम्च्याएर ‘सेटिङ’ गरेको उजुरीसँगै छानबिन अघि बढेपछि शिक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय पुस्तकालय भवन निर्माणको टेन्डर प्रक्रिया रद्द गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शिक्षा मन्त्रालयमा समेत जमलमा बन्ने पुस्तकालय भवनको ठेक्कामा न्यून प्रतिस्पर्धा गराउन सेटिङ मिलाइएको भन्दै उजुरी परेको थियो ।
 
उजुरीमा शंका गरेजस्तै टेन्डर प्रक्रियामा ४ वटा मात्रै कम्पनीले फाराम खरिद गरेर एक मात्र कम्पनीले बोलपत्र पेस गरेको थियो । गत माघ १० गत प्रकाशित बोलपत्रमा न्यून प्रतिस्पर्धा देखिएपछि रद्द गरिएको पुस्तकालय प्रमुख दशरथ मिश्रले स्वीकार गरे । ‘टेन्डर प्रक्रियामा प्राविधिक त्रुटि र कमीकमजोरी रहेको भनेर गुनासो आयो, उजुरी पनि पर्‍यो,’ उनले भने, ‘४ कम्पनीले बोलपत्र फाराम किने पनि एउटा मात्रै कम्पनी प्रतिस्पर्धामा आयो, न्यून प्रतिस्पर्धा हुने देखेर रद्द गरेका हौं ।’
 
२०७२ सालको भूकम्पमा हरिहरभवनको पुस्तकालय भवनमा क्षति पुगेपछि जमलमा प्रस्तावित भवन यसअघि जग्गा विवादका कारण निर्माणमा ढिलाइ भएको थियो । टेन्डर प्रक्रियाको कारण सुविधा सम्पन्न पुस्तकालय भवन बनाउने योजना पुनः पछाडि धकेलिएको छ । टेन्डर सूचना निकाल्दा नै बदनियत राखेर सकभर थोरै कम्पनीलाई प्रतिस्पर्धा गराएर सीमित कम्पनीमध्येलाई ठेक्का सुम्पने प्रावधान राखिएको मन्त्रालयका एक उपसचिवले बताए । ‘सार्वजनिक खरिद अनुगमन कार्यालयले मिलेमतोमा टेन्डर गरेको विषयमा स्पष्टीकरण सोधेर छानबिन अघि बढाएपछि रद्द गरिएको हो,’ उनले भने ।
 
सार्वजनिक खरिद कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीका अनुसार गुनासो आएपछि यसबारे राष्ट्रिय पुस्तकालयसँग जानकारी मागिएको हो । ‘पुस्तकालयको टेन्डरमा देखिएको समस्याका विषयमा जानकारी मागेको हो,’ उनले भने, ‘टेन्डरमा गल्ती देखिए औंल्याइदिने काम हाम्रो हो, त्यही काम गरिएको हो ।’
 
करिब ७० करोड लागत अनुमानको पुस्तकालय भवनको टेन्डरमा सीमित कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न पाउने प्रावधान समावेश गरिएको प्राविधिकहरूले बताउँदै आएका थिए । टेन्डर सूचनामा १० वर्षभित्र कम्तीमा ५७ करोड ७४ लाख ९८ हजार रुपैयाँ बराबरको डबल बेसमेन्ट भवन निर्माण गरेको कम्पनी मात्रै ठेक्कामा सहभागी हुन पाउने व्यवस्था गरिएको थियो । सीमित कम्पनीबीच मात्रै प्रतिस्पर्धा गराउने उद्देश्यले पुस्तकालयका प्रमुखसहित मन्त्रालयका अधिकारीले यस्तो व्यवस्था गरेको प्राविधिकहरू दाबी गर्छन् । 
 
डबल बेसमेन्ट भवन निर्माणको अनुभव भएको कम्पनीको संख्या नेपालमै ज्यादै न्यून रहेको निर्माण व्यवसायी बताउँछन् । त्यसमा पनि टेन्डर सूचनामा स–साना सर्त राखेर प्रतिस्पर्धाको दायरा खुम्च्याइएको छ । पुस्तकालय भवन निर्माण गर्ने कम्पनीसँग सभाहल, मन्दिर तथा पुरातात्त्विक क्षेत्रमा निर्माणको काम गरेको र अन्तर्राष्ट्रियस्तरको पुस्तकालय भवन बनाएको अनुभव हुनुपर्ने सर्त तोकिएको छ । यस्ता अनुभव भएका कम्पनी पनि नेपालमा २र४ वटा मात्रै छन् । आजको कान्तिपुरमा खबर छ ।