भैरहवा गौतम बुद्ध विमानस्थलमा उडान गर्न आधा दर्जन कम्पनीको निवेदन

चैत्र १५,२०७८

-आस्था न्यूज

चैत १५, २०७८ काठमाडौं ।
व्यावसायिक उडानको तयारीमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सञ्चालनका लागि विदेशी एयरलाइन्सको चासो बढ्दै गएको छ । यस विमानस्थलबाट आउँदो जेठ २ देखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी छ ।
 
विभिन्न विदेशी एयरलाइन्स कम्पनीले विमानस्थलमा आएर जानकारी लिने र सोधखोज गर्न थालेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए । ‘हवाई उडान सञ्चालन गर्न विदेशी एयरलाइन्स कम्पनीका कर्मचारी तथा प्रतिनिधि आउने र जानकारी लिने क्रम बढ्दो छ,’ उनले भने, ‘यहाँबाट हवाई उडान सञ्चालन गर्दा केकस्ता सुविधा र छुट पाइन्छ भन्नेमा उनीहरू बढी जिज्ञासु देखिएका छन् ।’
 
विमानस्थलको क्यालिब्रेसन फ्लाइट ९यान्त्रिक परीक्षण उडान० सकिएपछि २६ फागुनमा विमानस्थलबारे सम्पूर्ण जानकारीसहितको सूचना जारी गरिएको थियो । २७ फागुनमै जजिरा एयरलाइन्स सम्पर्कमा आई हवाई उडान सञ्चालन गर्न इच्छुक देखिएको थियो । जजिराले हवाई उडान सञ्चालनका लागि निवेदनसमेत दिइसकेको छ । त्यसपछि फ्लाई दुबई एयरलाइन्स कम्पनीका ३/४ जना कर्मचारीले स्थलगत अध्ययन गरेका थिए । ओमानको सलाम एयर, थाई स्माइल एयरलाइन्स र श्रीलंकन एयर लायन्स पनि हवाई उडान सञ्चालनका लागि सम्पर्कमा आएका छन् । कतार एयरलाइन्ससँग पनि कुराकानी भइरहेको दाहालले जनाए ।
 
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सञ्चालनका लागि विदेशी एयरलाइन्स कम्पनी र यात्रुलाई आकर्षित गर्न तयार पारिएको विमानस्थल सेवा शुल्क नियमावली केही दिनमै आउने अवस्थामा छ । जसमा अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई अवतरण र पार्किङलगायतका शुल्कमा छुटको व्यवस्था गरिएको छ । नियमावली नागरिक उड्डयन प्राधिकरण र नागरिक उड्डयन मन्त्रालयबाट पास भएर सहमतिका लागि अर्थ मन्त्रालयमा पुगेको छ ।
 
 
यात्रुको हकमा यात्रु सेवा शुल्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्दा कम र विमानस्थल विकास कोष (एडीएफ) बापतको १ हजार रुपैयाँ यस विमानस्थलमा नलिएर यात्रुलाई सुविधा दिइने दाहालले बताए । ‘यस विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्दा एयरलाइन्स कम्पनीलाई र यात्रुलाई लाग्ने विभिन्न शुल्कमा छुट तथा सुविधा दिएर हवाई उडान सञ्चालन खर्च कम लाग्ने योजना बनाइएको छ,’ उनले भने ।
 
विमानस्थलमा जडित उपकरण पनि अत्याधुनिक रहेकाले कम भिजिबिलिटीमा पनि सहजै विमान अवतरण गर्न सकिनेछ । विमानस्थलका अनुसार विमान अवतरणका लागि कम्तीमा पनि १ हजार ५ सय मिटरको भिजिबिलिटी आवश्यक पर्नेमा यहाँ ६ सय मिटरमै अवतरण गर्न सकिनेछ । आजको कान्तिपुरमा खबर छ ।