स्थानीय निर्वाचनमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने

चैत्र १८,२०७८

-आस्था न्यूज

चैत १८, २०७८ काठमाडौं।
वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा पाँचदलीय सत्ता गठबन्धन र विपक्षी एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले बिहीबार गठबन्धनभित्र मात्रै तालमेल गर्ने निर्णय गरेको छ । 
 
‘स्थानीय निर्वाचनमा गठबन्धन दलबीच मात्रै तालमेल गर्ने निर्णय भएको छ, अब अन्य दलसँग तालमेल हुँदैन,’ एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भने । गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा छन् ।
 
गत स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीबीच तालमेल हुँदा एमालेले एक्लै करिब ४० प्रतिशत स्थानीय तहमा जितेको थियो । यस पटक तालमेल नभए जित्न कठिन हुने आकलन गर्दै गठबन्धन दलहरू मिलेर निर्वाचन लड्ने निष्कर्षमा पुगेका हुन् । एमालेले मूलतः एक्लै चुनाव लड्ने निर्णय गरे पनि स्थानीय आवश्यकताअनुसार तालमेलको ढोका खुला राखेको छ ।
 
सत्ता गठबन्धनमा रहेका दलहरूले तालमेल गर्ने निर्णय लिएपछि एमालेलाई पनि वैकल्पिक गठबन्धनको ढाँचामा काम गर्न दबाब बढेको छ । तर, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमाले एक्लैले गठबन्धनको सामना गर्ने बताए ।
 
सत्ता गठबन्धनको निर्णय नौलो होइन, महिनौंदेखि भनिरहेको कुरालाई उहाँहरूले दोहोर्‍याएको मात्रै हो, यसले हामीलाई कुनै दबाब पर्ने कुरा भएन, मूलतः हामी एक्लै लड्छौं,’ उनले भने, ‘गठबन्धन टेस्टेड हो । गत निर्वाचनमा पनि हामी एक्लै लडेर सफलता हासिल गरेका थियौं । अहिले झन् बलियो भएका छौं । त्यसकारण गठबन्धनबाहेकका दलसँग पनि हामी राष्ट्रिय रूपमा तालमेल गर्दैनौं । स्थानीय तहमा आवश्यकताअनुसार तालमेल गर्ने कुरालाई रोक लगाएका छैनौं ।’
 
सत्ता गठबन्धनको बैठकमा सहभागी कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभा निर्वाचनमा जस्तै स्थानीय तहमा पनि संयुक्त रूपमा चुनाव लड्ने निर्णय भएको जानकारी दिए । निर्वाचनको समग्र परिस्थितिबारे केन्द्रमा छलफल हुने र वस्तुस्थितिबारे अध्ययन गर्न प्रदेश, जिल्ला र पालिका तहमा पाँचै दलका प्रतिनिधि सम्मिलित संयन्त्र बन्ने उनले बताए ।
 
सरकारका प्रवक्तासमेत रहेका कार्कीले गठबन्धनमा रहेका पार्टीका तहअनुसारका प्रमुखहरू सम्मिलित संयन्त्रले २१ चैतसम्म केन्द्रमा विश्लेषणात्मक प्रतिवेदन बुझाएपछि भागबन्डालगायतका विषयमा छलफल हुने जानकारी दिए । कान्तिपुरमा खबर छ ।