हैदराबाद हाउसमा जयनगर-कुर्था रेल उद्घाटन, जनकपुरमा प्रतीक्षा

चैत्र १९,२०७८

-आस्था न्यूज

चैत १९, २०७८ काठमाडौं ।
 
जनकपुर-जयनगर रेल सेवा उद्घाटनको प्रतीक्षामा छ । फूलले सिंगारिएको रेल शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले हरियो झन्डा देखाएपछि जयनगरबाट कुर्थाका लागि गुड्नेछ । नेपाली रेलको भारतको नयाँदिल्लीस्थित हैदराबाद हाउसमा देउवा र मोदीले भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ । रेल नियमित चल्ने भएपछि जनकपुरको माहोल उत्सवमय छ ।
 
भारतको ठूलो जक्सन जयनगरदेखि नेपालको पूर्वपश्चिम राजमार्गको बर्दिवासमा जोडिएको ब्रोडगेज रेल्वेअन्तर्गत उद्घाटनपछि रेलले हाल जयनगरदेखि कुर्थासम्म यात्रु ओसार्ने काम नियमित हुनेछ । नेपाल रेल्वे कम्पनीका महानिर्देशक दीपककुमार भट्टराईका अनुसार नेपाल–भारत सीमाको जयनगरमा सजाएर राखिएको रेललाई शनिबार मध्याह्न दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाउने कार्यक्रम तय छ ।
 
धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्मको १७ किलोमिटर खण्डको रेल्वे ट्रयाक निर्माणको काम लगभग सकिएको छ । भंगहादेखि बर्दिवाससम्मको काम आगामी महिनादेखि सुरु हुने कम्पनीले जनाएको छ ।
 
जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर खण्डमा भारत सरकारले ब्रोडगेज रेल्वे लिंक, स्टेसन, प्लेटफर्म बनाइदिएको थियो । नेपाल सरकारले त्यो खण्डमा चलाउन करिब ८६ करोड रुपैयाँमा दुई सेट आधुनिक रेल खरिद गरेर ल्याएको वर्ष दिनभन्दा बढी भइसकेको छ । हैदराबाद हाउसमा हुने रेलको औपचारिक उद्घाटनको प्रत्यक्ष दृश्य नेपालतर्फ जनकपुरस्थित रेल्वेको प्लेटफर्ममा र भारततर्फ जयनगर स्टेसनमा देखाइने छ ।
 
त्यसका लागि दुवै प्लेटफर्ममा तयारी छ । जनकपुरको प्लेटफर्ममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको पनि उपस्थिति रहनेछ । कान्तिपुरमा खबर छ ।